Logo
Logo

वरिष्ठ साहित्यकार शर्माको निधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० माघ । वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको बिहीबार ८१ वर्षको उमेरमा निधन भएको छ ।
मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उनको कलंकीस्थित नेशनल अस्पतालमा निधन भएको हो । शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन् । उच्च शिक्षाको नेपाली विषयमा शर्माका कृतिहरूको अध्ययन गरिन्छ ।
त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राडा लक्ष्मणप्रसाद गौतमका अनुसार शर्माका छोरा विदेशबाट आउन समय लाग्ने भएकाले शुक्रबार मात्र अन्त्येष्टि गरिनेछ । शर्माको पार्थिव शरीर बिहीबार पशुपतिको शवगृहमा राखिएको छ । डा गौतमले शर्मा आफ्ना विद्यावारिधि गुरुसमेत रहेको स्मरण गर्दै उनले नेपाली साहित्यका प्रायः सबै विधामा योगदान दिएको बताए ।
विसं १९९४ कात्तिकमा काठमाडौँमा जन्मिएका उनको ‘नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना (संयुक्त)’, ‘नेपालका केही आधुनिक साहित्यकार’, ‘कथाको विकास प्रक्रिया’, ‘जेमन्त र यमा’, ‘वैकुण्ठ एक्सप्रेस’ (नाटक), ‘कोर्रा’ कथासङ्ग्रह, ‘पुछारको पातो, ‘मि. झप्पु सिंह’, ‘च्याँखेधर्ना’ ‘हास्यव्यङ्ग्य’ (निबन्ध सङ्ग्रह), ‘शैलीविज्ञान’, ‘रचना र वर्ण विन्यास वैज्ञानिक पद्धति’ लगायत कृति प्रकाशित छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले शर्माको दुःखद निधन भएको खबर पाइएको उल्लेख गर्दै यसबाट नेपाली साहित्यका लागि अपूरणीय क्षति पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्