Logo
Logo

अमेरिकाद्वारा जी-७ को बैठक प्रस्ताव | विश्वभर कोरोना संक्रमितको संख्या डरलाग्दो : डब्लुएचओ


(एएफपी)


वासिंगटन, ८ जेठ (एएफपी) । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकैदिन ठूलो संख्यामा भेटिएको जनाएकै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सामान्यीकरण’को संकेतका रूपमा वार्षिक जी–७ शिखर सम्मेलनका लागि नेताहरुको बैठक गर्न प्रस्ताव राखेका छन् ।
डब्लुएचओले बुधबार एकैदिन १ लाख ६ हजारभन्दा बढी भाइरसका बिरामी भेटिएको जनाएको छ । गत डिसेम्बरमा चीनको उहानमा कोरोना संक्रमण देखिएपछि पहिलोपटक यो सबैभन्दा ठूलो संख्या देखिएको हो । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेबे्ररियससले आफू निम्न र मध्यम आय भएका देशहरूको अवस्थाबाट धेरै चिन्तित भएको बताएका छन् ।
दक्षिण अमेरिकी देशहरुमा पछिल्ला दिनहरूमा संक्रमणको दर निकै बढेको छ । केही मुलुकले लकडाउन खुकुलो बनाए पनि संक्रमण बढेसँगै पुनःस्थापित गरेका छन् । ब्राजिलमा सबैभन्दा बढी बिरामी भेटिएका छन् । यहाँ विश्वमै तेस्रो सर्वा्धिक संख्यामा संक्रमित देखिएका छन् । पेरू, मेक्सिको र चिलीमा पनि संक्रमण लगातार वृद्धि भइरहेको छ ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरूले एकै दिन १ हजार १७९ नयाँ कोरोनाभाइरस संक्रमितको मृत्यु भएको बताएका छन्, जबकि दक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारोले लकडाउनको कडा विरोध गर्दै आएका छन् । उनले विशेषज्ञहरूको सल्लाह विपरीत क्षेत्रीय गभर्नरहरूलाई लकडाउन हटाउन दबाब दिइरहेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जस्तै बोल्सोनारोले भाइरसको उपचारमा औलोको औषधीको प्रयोगलाई बढावा दिनु भएको छ । तर अध्ययनहरुले औलोको यो औषधि कोरोनाभाइरसको उपचारमा खासै फाइदाजनक नरहेको र शरीरलाई निकै हानि गर्ने बताएका छन् ।
आगामी नोभेम्बरमा पुनः निर्वाचनको सम्मुखमा रहेका राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने अडान पुनः रखेका छन् । उनले अमेरिका पुरानै लयमा फर्कने बताउँदै आगामी जुनमा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्र (जि–७) को शिखर सम्मेलनमा नेताहरुको उपस्थिति हुनेमा आफू आशावादी रहेको बताए ।
‘म यो सम्मेलन वासिङ्टन डिसीको क्याम्प डेभिडमा गर्ने विचार गर्दैछु’ उनले भने, ‘अरु नेताहरु पनि सहभागी हुनु हुनेछ । यो सबैका लागि ठूलो संकेत हुनेछ, सामान्यीकरण !’ जी–७ का देशहरू बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्तराज्य अमेरिकाले वार्षिक शिखर सम्मेलन आलोपालो आयोजना गर्ने प्रचलन छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोको कार्यालयले ‘स्वास्थ्य स्थितिले अनुमति दिएमा’ उपस्थित हुने जनाएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले आफू ‘पर्ख र हेरको अवस्थामा रहेको’ बताएका छन् । विश्वव्यापी रुपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख २५ हजारभन्दा बढी र झण्डै ५० लाख मानिस संक्रमित भएका छन् । यसबीच विश्वभरिका सरकारहरू खोपको आशामा रहेका छन् ।
भाइरस निर्माणका सन्दर्भमा उत्साहजनक खबरहरु आइरहेका छन् । एउटा अध्ययनमा बाँदरहरूमा गरिएको प्रयोगमा मानिसहरूले भाइरस प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने देखाएको छ । यसैबीच, युरोपमा संक्रमण र मृत्यु दरमा ठूलै कमी आएपछि लकडाउन खुकुलो बनाउन थालिएको छ ।
एसियाका देशहरूमा पनि बिस्तारै खुकुलोपन ल्याउन थालिएको छ । भारतमा दुई महिनाको लकडाउन पछि मे २५ बाट घरेलु हवाई यात्रा पुनः सुरु हुँदैछ । भारतमा एकै दिन ५ हजार ६०० भन्दा बढी नयाँ कोरोना संक्रमित देखिए पनि व्यवसाय, यातायात र अन्य क्षेत्रमा बिस्तारै सहजता आउन थालेको छ । चीन, दक्षिण कोरिया, जापान र सिंगापुरले पनि व्यवसायहरु खोल्नुका साथै आम जनजीवनमा सहजीकरण गर्न थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्