Logo
Logo

लकडाउनमा पाटन अस्पतालमा नाटकीय शैलिमा एक लाख ठगी


- दृष्टि न्युज/संवाददाता


काठमाडौंं, ८ जेठ ।
देश कोरोनाबाट आक्रान्त छ । तर, केहीलाई भने अपराध गरेर कसरी पैसा कमाउने भन्नेमै ध्यान छ । कतिसम्म अस्पतालका बिरामी कुरुवालाई समेत लगित गरी यस्ता ठगी भइरहेका छन् ।
गत २ जेठमा पाटन अस्पतालमा भक्तबिर राईको एक लाख रुपैयाँ नाटकीय शैलीमा लुटिएको छ ।


अस्पताल अगाडि सडक किनारमा स्कुटी लिएर बसिरहेका एक व्यक्ति राईलाई देख्ने वित्तिकै दगुर्दै नजिकै आए। सुनसान सडकमा त्यसरी मान्छे दगुर्दै आउँदा राईलाई लाग्यो मलाई चिनेको हुनुपर्छ। ती व्यक्तिले चिनेजाने जत्तिकै गरेर सोधिखोजी गर्न थाले। राईले छोरा विरामी भएर पाटन अस्पतालमा राखिरहेको र अहिले औषधी लिन बाहिर आएको बताए। राई यति विश्वस्त भएकी ‘ यो मान्छेले मलाई चिनेको रहेछ। हामी एकै ठाउँका रहेछौँ’

‘ओहो, यस्तो लकडाउनका बेला तपाईलाई कति गाह्रो भइरहेको होला। उपचार गर्ने पैसा के कति छ ? अप्ठेरोमा काम लाग्ने भनेको गाउँठाउँकै मान्छे त हो नी ‘, ती व्यक्तिले भने। राईलाई कहिलेसम्म काठमाडौं बस्नुपर्छ यकिन थिएन। उपचारमा कति पैसा लाग्छ, त्यो पनि निश्चित थिएन। सोलुखुम्बुको माता दुघकोशी घर भएका राई केही समय अघि उपचारका लागि छोरा लिएर काठमाडौं आएका थिए।

गोजीमा राखेको एक लाख रुपैयाँ देखाउँदै उनले भने, ‘ यी, अब जम्मा एक लाख रुपैयाँ छ। यो सकिएपछि त बिजोग नै होला।’

ती व्यक्ति राईको अझ नजिक भए। उनले साथ भरोसा दिने आश्वास दिलाए। ‘ ओहो, पैसा त धेरै लाग्छ सक्छ। ठिक छ, मसँग एक लाख रुपैयाँ छ त्यो लिइ राख्नुस्’ उनले भने। आफ्नो पैसा बैंकमा रहेकाले अहिले नै लिन भन्दै राईलाई स्कुटीमा चढाएर त्यसतर्फ बैंक खोज्दै हिँडे। दुई तीनवटा बैंक डुलाएपछि ‘एकछिन यहाँ बस्नुस् है म त्यहाँ बैंक खुलेको होला एक्लै हेरेर आउँछु’ भन्दै राईलाई कुराएर लागे। लामो समयसम्म पनि ती व्यक्ति फर्किएनन्। राईलाई सर्वस्व सकिएजस्तो भयो।

‘ मैले एक लाख रुपैयाँ कुन बेला उसलाई बुझाएँ, पत्तै पाइन’, राईको भनाई उदृत गर्दै ललितपुर प्रहरी परिसरका एक अनुसन्धान अधिकारीले भने। ती अनुसन्धान अधिकारीका अनुसार राईले उजुरी गरेपछि उनका कुरा सुनेर प्रहरी सुरुमा पत्याउन सकिरहेको थिएन। तर अनुसन्धान सुरु गरेपछि प्रमाणहरु खुल्दै गए।

घटना भएको पाँच दिनपछि बुधबार प्रहरीले मकवानपुर राक्सिराङ गाउँपालिका(४ का ३९ वर्षीय जय बहादुर घले भन्ने प्रकाश घलेलाई पक्राउ गरेको छ। उनी हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका( १३ कुसुन्ती बस्दै आएका थिए। उनी लकडाउन हुनुअघि गाडि कुदाउँथे। प्रहरीले सिसिटिभी फुटेजको आधारमा स्कुटीको नम्बर पत्ता लगाएपछि घलेसम्म पुगेको हो। प्रहरीका अनुसार सुरुमा घलेका मामालाई पक्राउ गरिएको थियो किनभने स्कुटी मामाको नाममा थियो। मामाले त्यस दिन भान्जाले स्कुटी लगेको र दिउँसो १ बजे फर्काएको बताएपछि घलेको खोजी सुरु भएको थियो। उनलाई ठगी मुद्दामा कारबाही अघि बढाइएको ललितपुरका एसपी तुलबहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्