Logo
Logo

चितवनमा मात्रै ६ महिनाको अवधिमा दुर्घटनामा ९१ को मृत्यु ३४० घाइते


- दृष्टि न्युज/संवाददाता


चितवन । सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा चितवनमा मात्रै भएका १६१ सवारी दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् भने ३४० घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनाका कारण पूर्वपश्चिम लोकमार्गमा २०, नारायणगढ मुग्लिन सडकखण्डमा १५, पृथ्वी राजमार्गमा १७, भरतपुर महानगरपालिकाभित्र ११ र जिल्लाका अन्य भित्री सडकमा २८ को मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा बढी मोटरसाइकल सवार रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ ।
मोटरसाइकलमा सवार ३७ को मृत्यु भएको छ भने पैदलयात्री २२ को मृत्यु भएको छ । यस्तै बसमा सवार १७, साइकल यात्री छ जना, ट्रक ट्याङ्करमा सवार पाँच जना, जीप कारमा सवार तीन जना र अटोमा सवार एक जना रहेको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार गत आवको यसै अवधिमा सवारी दुर्घटनाबाट ६१ को मृत्यु भएको थियो । जिल्लाभित्र भएका ११५ दुर्घटनामा २३० घाइते भएका थिए । गत आवमा जिल्लामा २७१ वटा सवारी दुर्घटना भएका थिए । जसमा १३२ को ज्यान गएको थियो भने ५२९ घाइते भएका थिए ।

कार्यालयले दिएको जानकारीअनुसार गत वर्षको तुलनामा चालू आवमा दुर्घटना निकै बढेका हुन् । ग्रामीण सडकमा समेत दुर्घटना बढेपछि चुनौती थपिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सवारी साधनको चापमा वृद्धि, युवापुस्ताले तीव्र गतिमा सवारी हाँक्नु, अटेर गरी मदिरा सेवन गरेर सवारी चलाउने जस्ता कारणले दुर्घटना बढेका हुन् । प्रहरीले टोलटोलमा ट्राफिक प्रहरी भन्ने अभियानका साथ जनचेतनामूलक कार्यक्रम गरिरहेको छ ।
नारायणगढ मुग्लिन सडकमा ब्रेकरका कारण दुर्घटनामा कमी आए पनि बजारी क्षेत्रमा ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको जनाएको छ । प्रहरीले ट्राफिक जनचेतनामूलक कार्यक्रम, सवारी मेकानिकल परीक्षण, चालकको स्वास्थ्य परीक्षण, ठाउँठाउँमा चेकजाँच, साँझमा मादक पदार्थ सेवन परीक्षणजस्ता कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्