Logo
Logo
दृष्टिकोण

शकुनीहरुको दुष्चक्रबाट माओवादी केन्द्रलाई जोगाउन सकिएला ?


रजमान तामाङ

8k
Shares

पछिल्लो समय खासगरी प्रचण्ड नेतृत्वको सरकार ढलेपछि माओवादी केन्द्रभित्र र बाहिर पार्टीको आन्तरिक राजनीति, नेतृत्व, संगठन र पार्टीले भोग्नुपरेका बहुआयामिक संकटबारे छलफल चलिरहेको छ । यो सकारात्मक कुरा हो । तर, छलफल र बहसहरुले पार्टी जीवनलाई गतिशील बनाउने कि बहसलाई अस्वस्थ बनाएर महाभारतको विनास निम्त्याउने भन्ने कुराले माओवादी पार्टी र आन्दोलनको भविष्य निर्धारण हुनेछ ।

सचेत क्रान्तिकारी नेता तथा कार्यकर्ताहरुले पार्टीभित्रको बहसलाई रचनात्मक ढंगले व्यवस्थित गर्दै पार्टी र आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्न पहल बढाउनुपर्छ ।

सर्वविदितै छ, शान्ति प्रक्रियापछि माओवादी यात्रा निरन्तर ओरालो लाग्दैछ । यसका आन्तरिक जीवनका समस्याहरूमा केन्द्रित भएर यो पार्टीले कहिल्यै बहस गरेन । वरु बहस गर्नेहरू नै बाहिरिए । पार्टीभित्रका विभिन्न प्रवृत्तिको नेतृत्व गरेकाहरुले समस्या अरुको टाउकोमा थोपरेर आफू पवित्र रहेको पुष्टि गर्ने कार्यमा नै लागे ।

सापेक्षतामा हेर्दा त्यो सही नै जस्तो भए पनि यसले रणनीतिक रुपमा माओवादी पार्टी र आन्दोलनलाई कमजोर नै बनायो । हरेक प्रवृत्तिका नेताहरुले आफूलाई सही सावित गराउन अहिले पनि कम्मर कसेर लागेकै छन् । तर, सबै प्रवृत्तिहरु दिनानुदिन कमजोर बन्दै गएका छन् ।

माओवादी आन्दोलनका नेताहरु अझै नचेत्ने हो भने आफ्नै टाउकोमा आगो झोस्ने आँट र साहस नगर्ने हो भने अघिल्लो र हाम्रै पुस्ताले रगत र पसिना बगाएर निर्माण भएको यो भीमकाय आन्दोलन/संघर्ष बालुवाको घर बन्दैछ । अझै पनि आंशिक सत्यलाई समातेर समग्रलाई छाड्ने हो भने माओवादी आन्दोलनको मलामी हामी आफैं जाने अवस्थामा पुग्दैछौं । त्यतिवेला अर्काको टाउकामा दोष थोपरेर आफू पानीमाथिको ओभानो बन्ने सबै पक्षले सच्याउन खोज्दा ढिलो भइसकेको हुनेछ ।

माओवादी पार्टीको इतिहास र स्कुल मुख्यतः चौम हो । यसको सकारात्मक पक्ष प्रचुर छ । नेपालको कम्युनिस्ट आन्दोलनमा मुलतः वैचारिक संघर्ष र रुपान्तरणको भूमिका पुष्पलाल श्रेष्ठपछि यसैले ग¥यो । ठूलो वैचारिक र वलिदानीपूर्ण संघर्ष ग¥यो । यसको सकारात्मक पक्ष जति महत्वपूर्ण छ, नकारात्मक पक्ष पनि यसको धेरै छ ।

यसको नकारात्मक पक्ष भनेको टुटफूट र विभाजन हो । यही स्कुलिङबाट आएकाहरु नै सबैभन्दा बढी समूहमा विभाजित छन् । मोहन बिक्रम सिंह र नेकपा एकता केन्द्रसँगको विभाजन मात्रै सही ठहरिएको छ । यो इतिहासको जब्बर तथ्य हो । शान्ति प्रक्रियापछि दक्षिणपन्थी विसर्जनबादीको अभियोग लगाएर २०५१ मा निस्कासित नारायणकाजी समूहसँग एकता प्रक्रिया बैचारिक, राजनैतिकभन्दा प्राबिधिक कारण बढी थियो । यही एकतापछि माओवादी आन्दोलनमा टुटफुट र विभाजनको शृङ्खला पुनः सुरु भयो ।

प्रारम्भमा मात्रिका यादवबाट सुरु भएको यो विभाजन मोहन वैद्य किरण, रामबहादुर थापा वादल, सीपी गजुरेल हुँदै डा. बाबुराम भट्टराई, गोपाल किरातीसम्म पुग्यो । त्यसमा विप्लव, धर्मेन्द्र बास्तोलाहरु पनि टुक्रिए । नारायणकाजी समूहबाट एकतामा जोडिएका आहुती पनि माओवादीमा रहिरहन सकेनन् ।

माओवादी आन्दोलनका हस्ती, स्थापित नेताहरु माओवादी पार्टीमा नरहँदा कतिपयलाई ब्यक्तिगत रूपमा फाइदा भयो होला । तर, यो आन्दोलनको हितमा रहेन । हजारौं तथ्यहरुले यसलाई पुष्टि गरिसकेको छ । माओवादीभित्र चल्ने वैचारिक, राजनैतिक संघर्षमा यसलाई ध्वंसात्मक बनाएर आन्दोलन सिध्याउन भूमिका खेल्ने पात्र र प्रवृत्ति सदैव देखा प¥यो । देखा परिरहेका छन् । पछिल्लो समय पार्टी र नेतृत्वलाई नयाँ ढंगले ब्राण्डिङ गर्न कसै न कसैले बैचारिक राजनैतिक पहल लिन जरुरी थियो । यथास्थितिमा पार्टीको पुनर्जागरण र पुनर्जीवन असम्भव हुँदै गएको थियो ।

पार्टीभित्र उपमहासचिव जनार्दन शर्मा प्रभाकरले यो पहल लिएका छन् । यसै कारण पछिल्लोपटक पार्टीभित्र गति पैदा भएको छ । यसले गर्दा मूल नेतृत्वदेखि पदाधिकारीसम्म देश दौडाहामा गएका छन् । अर्कोतिर विभिन्न संचारमाध्यममा बहसका लागि लेख रचनाहरु प्रकाशित भइरहेका छन् ।

यसमध्ये केहि मिडियामा माओवादीको आन्तरिक जीवनसँग जोडिएर माओवादी नेताहरूबाट लेखिएका लेखहरु र त्यसमा उठाइएको बिषयबस्तु उपर समेत छलफल जरुरी छ । खासगरी पार्टीका उपमहासचिव एवम् पूर्वका पुराना नेता एवम् माओवादी आन्दोलनका वरिष्ठतम् नेतामध्ये एक हरिबोल गजुरेलको लेखबारे केही टिप्पणी गर्न जरुरी छ ।

उनले एक अनलाइनमा के माओवादी केन्द्र स्वार्थ समूहको चङ्गुलबाट निस्कन सक्ला ? शिर्षकमा लेखेका छन् । राजधानीमा पार्टीको महत्वपूर्ण जनवर्गीय संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन शुरु हुनै लाग्दा गजुरेलले उक्त लेख लेखेका थिए । लेखमा उठाइएको मूल विषय चाहिँ पार्टीभित्र पछिल्लोपटक प्रारम्भ भएको बहसलाई न्यूनीकरण गर्नु नै हो भन्ने उनको तर्कबाट पुष्टि हुन्छ ।

‘बाबुरामको एक्कासी बहिर्गमनपछिको रिक्तता (भ्याकुम) मा गुटबन्दीका सामान्य नियम र परम्पराभन्दा पृथक ढंगले माओवादी केन्द्रमा सोझै स्वार्थ समूह र उप–समूहको रूपमा उदय भयो । कुनै पनि स्वार्थ समूहमा नलाग्ने नेता–कार्यकर्ता न घरको न घाटको हुन पुगेको देखिन्छ ।’

लेखको शिर्षकबाट नै थाहा हुन्छ, गजुरेलको अन्तर्निहित उद्देश्य । पार्टीभित्रको समस्या स्वार्थ समूह हो भन्ने उनको निष्कर्ष छ लेखमा । उनले गुटबन्दी मुर्दावाद भन्ने नारा लगाउन अपिल गरेका छन् । उनी लेख्छन्, ‘चर्को गुटबन्दीको मारमा परेका नेता–कार्यकर्ताबाट गुटबन्दी मुर्दावाद ! को नारा लाग्न मात्र बाँकी थियो । यसर्थ यति भद्दा गुटबन्दी किन चल्यो र चलिरहेको छ ? शल्यक्रिया आवश्यक छ ।’

मूल नेतृत्वको साथमा आफू द्रुढतापूर्बक उभिने बिश्वास दिलाएका छन् । त्यतिमात्र होइन, अध्यक्षलाई अघि बढ्न हौसला प्रदान गरेका छन् । उनले अहिले चलिरहेको बहसबारे लेखेका छन्, ‘यतिखेर पार्टीमा बहस चलिरहेको छ तर दुःखको कुरा विचार केन्द्रित बहसले हैन, व्यक्तिगत स्वार्थ केन्द्रित बहसले प्राथमिकता पाइरहेको छ ।… बाबुरामसँगको बहस र संघर्ष प्रवृत्ति र राजनीतिक थियो ।’

पार्टीको भयावह संकटलाई समाधान गरेर अघि बढ्न आम माओवादी कार्यकर्ताले पार्टी, नेतृत्व र बिचारको समय अनुकूल विकास गर्न बरु अहिले जस्तो बहस बाबुराम वा मोहन वैद्य किरणले पनि उठाएका थिएनन् भन्ने कुरा छोप्न हरिबोलले ठूलै कसरत गरेका छन् । गजुरेलको तर्कमा कुण्ठा अभिव्यक्त हुन्छ ।

अबको समाजवादी यात्रामा जाँदा पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न तेस्रो पुस्ताका नेताहरूलाई नयाँ ढंगले जिम्मेवारी प्रदान गर्ने, त्यसका लागि पार्टीभित्र लोकतन्त्रको अभ्यास गर्ने, माओवादी जनयुद्धमा सहभागी र माओवादीभन्दा बाहिर पनि प्रगतिशील र क्रान्तिकारी शक्ति रहेकाले उनीहरुलाई पार्टीमा आउने वातावरण तयार गर्ने भन्ने प्रस्तावले कसको स्वार्थपुर्ति गर्छ ? कुन स्वार्थ समूहको हित गर्छ ? कि कमजोर हुँदै गरेको माओवादी आन्दोलनको पुनर्जागरण हुन्छ ? हरिबोलहरु पुनर्जागरण चाहन्छ्न् कि विघटन प्रश्न यहाँनेर हो । माओवादी आन्दोलनलाई नयाँ ढंगले जागृत गर्ने बहसलाई तिरस्कार गरेर गजुरेलहरु माओवादी आन्दोलनको विघटन चाहन्छन् भन्ने कुरा पुष्टि हुन्छ ।

पार्टीभित्र बिचारधारात्मक संघर्ष नभए कम्युनिस्ट पार्टी जीवित रहँदैन भन्ने कुरा माओत्सेतुङले जोड दिएर भनेका थिए । पार्टी भित्र बैचारिक राजनैतिक सबालहरु रचनात्मक ढंगले उठाउनेहरुलाई शत्रुतापुर्ण हमला गर्ने तर पार्टी र नेतृत्वमाथि दुश्मनले हमला गर्दा अँध्यारो कोठाभित्र उत्सब मनाएर बस्नेहरुबाट के माओवादी आन्दोलन जोगिन्छ त यो जटिल प्रश्न छ हाम्रा सामु ।

महाभारतको कथामा शकुनि भन्ने पात्र छ । त्यो पात्रको काम दुर्योधनलाई पाण्डबहरुको विरुद्ध उक्साउनु हो । शकुनिले महाभारतको कथामा दुर्योधनलाई निरन्तर उक्साएर पाण्डवहरूप्रति घृणा र शत्रुता बढाउन ठूलो भूमिका खेले । यसक्रममा उनले दुर्योधनलाई पाण्डवहरूसँगको दुश्मनीलाई चरम बिन्दुमा पु¥याउन र अन्ततः महाभारत युद्धको बीउ रोप्नका लागि अनेकौं चालहरू र रणनीतिहरू अपनाएका थिए ।

द्रौपदीको चिरहरणदेखि पाण्डवहरुलाई अपमानित गर्न उक्साउने शकुनि नै थिए । शकुनिको लगातार उक्साहट, कूटनीतिक चाल र अनैतिक मार्गदर्शनले दुर्योधनलाई अन्ततः महाभारतको विनासकारी युद्धको बाटोतर्फ धकेल्यो । उनका हरेक चालहरूले हस्तिनापुरको राज्यमा पारस्परिक द्वेषको आगो बल्दै गयो, जसले अन्ततः युद्ध विस्फोट गरायो । हरिबोल गजुरेल कतै यस्तै शकुनीको भूमिका त छैनन् ?

वर्गसंघर्षमा सदैव पृष्ठभागमा रहने तर अन्तरसंघर्षमा मुख्य नेतृत्वको आडमा बसेर पाटीभित्र उठेका रचनात्मक मतहरुलाई अस्वस्थतामा बदल्ने काम हरिबोल गजुरेलको राजनीतिक प्रारम्भदेखि पछिल्लो नेकपाको अन्तरसंघर्षसम्म रह्यो । एकीकृत चौम हुँदा मोहनविक्रम सिंहको आड लागेर दाइ सीपी गजुरेलका विरुद्ध शत्रुतापूर्ण अन्तरसंघर्ष चलाए । एकता केन्द्र निर्माण भएपछि प्रारम्भमा प्रचण्डको आडमा मोहन वैद्य किरण र सीपी गजुरेल पछि डा. बाबुराम भट्टराई ।

नेकपा हुँदा केपी ओलीको आड लागेर प्रचण्डका विरुद्ध अभियान चलाए । पार्टी टुक्रिदा प्रचण्डसँगै त रहे तर उनले प्रचण्डसँग आफ्नो फरक मत राखिरहे । पछि प्रधानमन्त्री प्रचण्डको सल्लाहकार त बने तर फरक मत राखेर सल्लाहकारबाट राजीनामा दिए । घटना, परिवेशमा कुनै परिवर्तन नभई फेरि प्रचण्डको आडमा जनार्दन शर्मा र पार्टीलाई सुधार गरेर लैजानुपर्छ भन्नेहरुका विरुद्ध शकुनिले जस्तै शत्रुतापूर्ण ढंगले लडाई चर्काउने काम गरिरहेका छन् ।

सोहि अनलाइनमै माओवादी प्रचार बिभागका सह इन्चार्ज महेश्वर दाहालले माओवादीभित्रको अहिलेको संकट कार्यदिशाको अन्यौलता हो भन्ने निष्कर्ष निकालेका छन् । उनले हरिबोलको लेख प्रकाशित भएको भोलिपल्ट, ‘माओवादी पुनर्निर्माणको एउटा बहसः के हामी यसो गर्न सक्छौं ?’

शिर्षकको लेखमा लेखेका छन्, ‘वास्तवमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वर्तमान कार्यदिशाका कैयौं अस्पष्टता छन् । यद्यपि जनयुद्ध एवम् जनआन्दोलनको बलमा राजनीतिको नेतृत्व गर्दै समाजको संघीय लोकतान्त्रिक गणतान्त्रिक पुनर्संरचना गर्ने तथा सामाजिक न्यायका पूर्वाधारहरूको पक्षमा निरन्तर लाग्दै समाजवादमा फड्को मार्ने माओवादी केन्द्रको लक्ष्य अद्यावधिक छ ।’

निश्चितरूपमा संकटको कारण न कुनै गुट हो न त कुनै स्वार्थ समूह । बरु यी सबै समस्याको केन्द्रमा वैचारिक, राजनैतिक र सांगठनिक प्रणालीको समस्या हो । गजुरेलहरु साँझमा घरमा दनदनी बलिरहेको आगो भन्दा उडिरहेको जुनकीरीलाई समस्या देख्ने फोबियाबाट कहिल्यै मुक्त नहुनु समस्या हो । अहिले माओवादी कसैको गुटका कारण समस्यामा परेको होइन । गुटको कारण समस्या हुने भए त मोहन बैद्य किरणसँग किरणसहित झन्डै आधा शक्ति थियो, अझ भन्दा माओवादी जनयुद्ध प्रारम्भका प्रचण्ड बाबुराम बाहेक सबै वरिष्ठतम् नेताहरु उनैसँग थिए ।

दाहालले स्पष्ट शब्दमा लेखेका छन्, ‘क्रान्तिकारी सिद्धान्त एउटा कम्युनिस्ट पार्टीको मुटु हो । कार्यदिशाको स्पष्टता र सफल कार्यान्वयनले मात्र पार्टी र नेतृत्वप्रति विश्वास बढाउने हो । स्पष्ट कार्यदिशा र त्यस अनुसारको लक्ष्य निर्धारण गर्न तथा त्यसको प्राथमिकताको लयमा कार्यक्रम तय गर्न नसक्नुको परिणाम नै आज माओवादी केन्द्रमा आएको शक्ति संकुचन हो ।’

माओवादी पार्टीको इतिहासमा अहिलेको जस्तो ऐतिहासिक बहस पार्टीभित्र कहिल्यै चलेको थिएन । यो पार्टी र आन्दोलनमा आएको ऐतिहासिक संकटको परिणामस्वरूप आएको हो । कुरा स्पष्ट छ कि अहिले पार्टी नेतृत्व र विचारको रिब्राण्डिङ ऐतिहासिक आवश्यकता बनेको छ ।

दीर्घकालीन जनयुद्धको कार्यदिशाको विकास गर्न, माओवादीको रूपमा पार्टीको ब्राण्डिङ र दीर्घकालीन जनयुद्धको कार्यदिशाको सफल कार्यान्वयन गरेर शान्ति प्रक्रिया हुँदै देशलाई युगान्तकारी राजनीतिक परिवर्तनको अगुवाई अध्यक्ष प्रचण्डको कुशल नेतृत्ववाट सम्भव भएको हो । इतिहासको अकाट्य यो सच्चाइलाई न्यूनीकरण गर्नु गम्भीर भुल हुनेछ ।

माओवादी आन्दोलनको बाँकी कार्यभार पूरा गर्न अझ त्यो भन्दा उच्च स्तरको वैचारिक राजनैतिक क्षेत्रमा नवीन कार्यहरु गर्नुपर्नेछ । त्यसका लागि अध्यक्ष प्रचण्ड र नेतृत्वको नयाँ ढंगले रिब्राण्डिङ गर्नु, कार्यविभाजनलाई पुनर्परिभाषित गर्नु, नेतृत्वलाई नयाँ ढंगले परिभाषित गर्नु, प्रकृति मानव समाज र चिन्तनको क्षेत्रमा देखापरेका नयाँ ज्ञान, विज्ञान र शिक्षाहरुलाई ग्रहण गरेर उच्चस्तरको कार्यदिशाको निर्माण गर्नु र त्यसका लागि फेरि नेतृत्व, पार्टी र विचारलाई रिब्राण्डिङ गर्ने प्रश्न वैचारिक राजनैतिक प्रश्न नभएर के हो त ? यो भन्दा उन्नत र प्रगतिशील कार्यक्रम गजुरेलहरुले प्रस्तुत गर्न सकेका छन् त ? ।

नयाँ वस्तुगत परिस्थितिले नयाँ विचारको माग गर्छ । नयाँ विचारले नयाँ भौतिक शक्तिको रूपमा संगठनको माग गर्छ । नयाँ ढंगको संगठन परम्परागत मान्यतामा टेकेर बन्न सक्दैन भन्ने कुरा बीसौं शताब्दीको वैचारिक चेतले काम गर्न सक्दैन । फाइभ जी पुस्तासँग भिड्न परेको आजको दुनियाँमा गजुरेलहरुको समस्याको उठान र समाधानको तरिकामा उनको दोषभन्दा समयको हो भन्ने लाग्छ ।

हरिबोल गजुरेल शान्ति प्रक्रिया पछि नै भूमि आयोगका अध्यक्ष भए।पछि कृषि मन्त्री भए।कृषि मन्त्रालयमा गएपछि मौलिक काम गर्नुको सट्टा सय रुपैयाँको गमलामा धान रोपेर सर्बत्र आलोचित भए।माथि नै उल्लेख गरिएको छ, मुख्य नेतृत्वको आडमा बसेर पार्टी भित्र रचनात्मक प्रश्न गर्नेहरुविरुद्ध जाइलाग्ने उनको प्रवृत्तिले नेकपाको कार्यकालमा तत्कालीन अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि उनि ओलिको तिर लाइन मिलाउन बसे ।

केपी ओली र टोपबहादुर रायमाझी सँगको सल्लाहमा उनी प्रचण्डसँग आए।जसलाई उनी स्वार्थ समुहको नामांकन गर्दै हिँडेका छन् । हरिबोल गजुरेलको भूमिकामा उनिहरु उभिएका भए माओवादी धार कुन अबस्थामा पुग्थ्यो?के यो गम्भीर प्रश्नको जबाफ छ हरिबोलहरुसँग ?

मार्क्सवादको चर्को कुरा गर्ने गजुरेल क्षेत्रीयताको आधारमा क्रान्ति हुने र नहुने तर्क गर्छन् । सामन्तबादविरुद्ध पश्चिम नेपालले लडेपनि समाजबादी क्रान्ति पश्चिमबाट नहुने उनको तर्क आफैंमा मार्क्सवादको प्रस्ताबना बिरोधी मान्यता हो । यो स्वयं मार्क्सले पुँजीवादको उच्चतम बिकास भएको फ्रान्स जर्मनी र बेलायत जस्ता देशमा समाजबदी क्रान्ति हुने भबिष्यवाणी असफल भए जस्तै हो।बरु तुलनात्मक रूपमा कम पुँजीवादको बिकास भएको रुसमा समाजबादी क्रान्ति भयो । हरिबोलको प्रस्ताब शक्ति खण्डित गर्ने, क्रान्ति बिरोधी हो ।

फिल्ममा गाई मरेको दृश्य हेरेर बाहिरा पत्रकारहरुसँग क्यामेरा अगाडि रोएर नौटंकी देखाउने हरिबोल गजुरेलहरुले आजको युगको पुँजीवाद विरुद्धको लडाइँको अगुवाई गर्छ भनेर कसले पत्याउने ? बरु यो प्रवृत्तिले पार्टीभित्र अगाडि बढेको प्रगतिशील बिचार र शक्तिलाई छेकबार गर्ने दुस्प्रयत्न गरिरहेको छ ।

पार्टी, नेतृत्व र विचारलाई नयाँ ढंगले परिभाषित गरेर समाजवादी क्रान्तिको अगुवाई गर्ने बहसलाई स्वार्थ समूहको चंगुल देख्ने हरिबोल गजुरेलहरु, नेतृत्वलाई दुर्योधन बनाएर आफ्नो स्वार्थ सिद्धीमा लागेका दासहरुको चङ्गुलबाट माओवादी केन्द्र मुक्त हुन सक्छ कि सक्दैन ? यदि यसबाट मुक्त हुन सकेमा नेपालको राजनीतिमा माओवादीको अर्काे विकल्प तत्काल सम्भव देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्