
काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटार केन्द्रित प्रदर्शन गरेपछि सो क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । रास्वपाले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले सभापतिलाई पक्राउ गरेको भन्दै उनको रिहाईको माग गर्दै प्रदर्शन गर्दै आएको छ ।
आज बालुवाटारमा भएको प्रदर्शनको क्रममा प्रहरीसँग ठाउँ ठाउँमा झडप भएको छ । सो क्रममा रास्वपाका १७ कार्यकर्ता पक्राउ परेका छन् ।
प्रदर्शनको तयारी गरिरहँदा पहिला नै सुरक्षाकर्मीले नेता तथा कार्यकर्ता गिरफ्तार गरेको रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो उपस्थितिका बीच रास्वपाले प्रदर्शनको प्रयास गरिरहेको छ ।














