Logo
Logo

६ हजार १५५ जना सहकारी बचतकर्ताले पाए पूरै रकम फिर्ता


4.7k
Shares

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको सत प्रतिशत बचत फिर्ता भएको जनाएको छ । 

मङ्गलबार काठमाडौंमा समितिले आयोजना गरेको समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ताको कार्यक्रममा भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीबाट हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार रुपैयाँ फिर्ता गरिएको जानकारी दिए ।

त्यस्तै आंशिक रुपमा हालसम्म ४ सय ३८ बचतकर्ताको ३ करोड भन्दा बढि रकम फिर्ता गरिएको छ । सङ्कटग्रस्त सहकारीका ५६ हजार ६ सय ५ बचतकर्ताको ३८ अर्ब ४२ करोड ३ लाख २९ हजार ८ सय ११ रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको मन्त्री अधिकारीले बताए ।

उनले सङ्कटग्रस्त सहकारीमा भएको सम्पती बिक्रि लिलाम वा साटासाट गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने र सहकारीबाट ऋण लिएर नतिर्नेहरूको सम्पती लिलाम गर्ने निर्णय भएको धारणा राखे । उनले केही सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नका लागि प्रक्रिया सुरु भइसकेको जिकिर गरे । मन्त्री अधिकारीले हाल सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारीहरु १९ वटा रहेको र बाँकी छुट मागदावीकर्तालाई बचत फिर्ता गरि राफसाफ गरिएको सहकारीको संख्या ३ रहेको जानकारी दिए ।  

मन्त्री अधिकारीले चालू आर्थिक मसान्तसम्म थप ९ सहकारी संस्था राफसाफ गर्ने लक्ष्य लिइएको बताए । त्यस्तै १३ हजार ७५ ऋणी सदस्यहरुबाट २३ अर्ब ६२ करोड ९६ लाख ५८ हजार ७ सय ९४ रुपैयाँ असुलीतर्फ अन्तिम कारवाहीको प्रक्रिया अघि बढाउने योजना रहेको उनले बताए । कार्यक्रममा समस्याग्रस्त केहि सहकारीका बचतकर्तालाई बचतरकम फिर्ता गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्