Logo
Logo

साफको फाइनल हेर्न टिकट काट्नेकाे बिहानैदेखि भिड


756
Shares

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज हुने नेपाल–बंगलादेशबीचको फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको छ । एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।

अनलाइन टिकट खरिद बन्द गरेपछि बिहानैदेखि टिकट बिक्रीस्थलमा सर्वसाधारण लाइनमा बसेका छन् । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।

यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्री जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैँले टिकट बेच्न लागेको हो ।

उक्त खेलमा १५ हजार दर्शक क्षमताको रंगशालामा १९ हजारलाई प्रवेश गराइएको थियो । २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ । सो दिनको खेलमा नेपालले भारतलाई पेनाल्टीमा ४–२ ले हराएको थियो ।

आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्