Logo
Logo

जनताको जीवनस्तर माथि उठाउन दत्तचित्त भएर लागौँ : सभामुख सापकोटा


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १५ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले १३औँ गणतन्त्र दिवसका अवसरमा देश विदेशमा रहनुुभएका सम्पूर्ण नेपालीलाई हृदयदेखि नै शुुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख सापकोटाले आज जारी गरेको शुभकामना सन्देशमा ऐतिहासिक दिवसका अवसरमा आम नागरिकको अपेक्षाअनुसार संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न दलहरुबीचको सुदृढ राष्ट्रिय एकता कायम गरी समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा लाग्न प्रेरणा मिल्ने विश्वास लिएको उल्लेख गर्नुभएको छ । उहाँले विसं २०६५ जेठ १५ गते संविधानसभाको बैठकबाट घोषणा गरिएको गणतन्त्रको नेपालको संविधानमार्फत संस्थागत भएको अवसरमा सबैलाई शुभकाना व्यक्त गर्नुभएको हो ।

“गणतन्त्र स्थापनाका गौरवशाली १२ वर्ष पूरा हुँदै गर्दा कोभिड–१९ महामारीबाट उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न बाध्य छौँ, जसकाकारण यस वर्षको गणतन्त्र दिवस उल्लासमय तवरमा मनाउन सकिने अवस्था रहेन”, शुभकामना सन्देशमा भनिएको छ, “एकातिर महामारीबाट जनताको जीवनरक्षाको सवाल छ भने अर्कोतिर बन्दाबन्दीका कारण उत्पन्न आर्थिक विषमतालाई पार गरेर अघि बढ्नुपर्नेछ, गणतन्त्र दिवसलाई हामीले यो विषम परिस्थिति पार गरेर अघि बढ्ने सङ्कल्प दिवसका रूपमा मनाउनुपर्ने अवस्था आएको छ ।”

नयाँ संविधानमार्फत हामीले गणतन्त्रलाई संस्थागत गर्ने कार्य सम्पन्न गरेको हुँदा गणतन्त्रसँगसँगै नयाँ संविधानमा सङ्घीयता र धर्मनिरपेक्षता पनि सुनिश्चित गरिएर व्यवहारिक अभ्यास भइरहेको उल्लेख गर्दै सभामुख सापकोटाले हरेक नेपाली जनताको जीवनस्तर माथि उठाउनुपर्ने दायित्वमा दत्तचित्त भएर लाग्नुपर्ने उल्लेख गर्नुभएको छ ।

सभामुख सापकोटाले नेपालमा गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न सङ्घर्षका क्रममा जीवन आहुती दिनुभएका सम्पूर्ण महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

“गणतन्त्रप्राप्तिको कठोर सङ्घर्षका घाइते तथा अपाङ्ग हुनुभएका एवं तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिनुभएका योद्धाहरुको उच्च बलिदानी भावको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ, “उहाँहरुको साहस, अग्रगामी परिवर्तनको तीव्र इच्छाशक्ति एवं बलिदानीपूर्ण सङ्घर्षका कारण हामी आजको अवस्थासम्म आइपुुगेका हौँ ।”

प्रतिक्रिया दिनुहोस्