बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल ल्याउने तयारी गरेको छ । पूर्वगृहमन्त्रीसमेत लामिछाने कात्तिक २ गतेदेखिसहकारी ठगी मुद्दाको अनुसन्धानको क्रममा कास्की प्रहरी हिरासतमा छन् ।

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिएको थियो । तर, तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् । मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि बुटवल ल्याउने रूपन्देही प्रहरीको तयारी छ ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैंयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते लामिछाने, जिबी राईसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीले अदालतको त्यही अनुमतिअनुसार अनुसन्धानका लागि बुटवल ल्याउने तयारी गरेको हो । बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतको अनुमतिअनुसार रूपन्देही पठाइदिन रूपन्देही प्रहरीले एक साताअघि नै पत्राचार गरिसकेको छ । त्यही पत्रअनुसार छठ पर्व सकिएपछि बुटवल ल्याउने तयारी भइरहेको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताएका छन् ।
कास्की अदालतबाट म्याद थप नभएको अवस्थामा कास्की प्रहरीको समन्वयमा रूपन्देही ल्याएर अनुसन्धान गर्न पनि सकिने प्रहरी उपरीक्षक राठौरको भनाइ छ ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे पनि कास्की प्रहरी हिरासतमै छन् । बञ्जाडेको भने यसअघि नै बुटवलमा बयान सकेर कास्की लगिएको हो ।














