Logo
Logo

सिरहामा बिष्णुको मदिरा तस्करी अपरम्पार


8.9k
Shares

लहान । यस्ता तस्कर, सबैका लागि सीमानाका बन्द भएपनि उसको लागि खुल्ला रहन्छ । जिल्लामा सिडिओ, प्रहरी प्रमुखहरू जोसुकै आउन् जाउन्, उनलाई मतलब हुँदैन । जस्तोसुकै परिस्थिति सिर्जना भएपनि उसको तस्करी रोकिँदैन । बिगत डेढ दशकदेखि निर्वाध रूपमा मदिरा तस्करीमा सक्रिय नाम हो– बिष्णु साह ।

गमरियाका स्थायीबासी बिष्णुले यतिबेला भने नवराजपुर गाउँपालिकाको कुसुण्डी नाकाबाट हरेक रात मदिरा भारततर्फ निर्यात गरिरहेछन् । बिष्णुको मदिरा तस्करीलाई प्रहरी प्रशासनको बलियो साथ रहेको स्रोत बताउँछ ।

गमरियास्थित घरमै गोदाम खोलेका उनले ठाडीदेखि बरियारपट्टीसम्म दशगज्जामै कानुनविपरित सञ्चालित होटलहरूमार्फत बिष्णुले सहजै रूपमा मदिरा भारत तस्करी गर्दै आएको बताइन्छ ।

बताइएअनुसार विष्णुले नाकामा तैनाथ सशस्त्र प्रहरी प्रमुखलाई १ लाख, नवराजपुर प्रहरी चौकीलाई ५० हजार, इलाका प्रहरी कार्यालय लक्ष्मिपुर पतारीलाई ३० हजार, महेशबारी र भगबानपुर चौकी क्रमशः २५ र १५ हजार रूपैयाँ मासिक बुझाउँदै आएकाछन् ।

त्यसैगरी, ठाडीस्थित सशस्त्रको स्काउट डिएसपीलाई मासिक ५० हजार, ठाडीस्थित प्रहरी चौकीलाई ५० र ठाडी भन्सार प्रमुखलाई १ लाख रूपैयाँ बुझाउँदै आएकाछन् ।

त्यस्तै, बताइएअनुसार बिष्णुले इलाका प्रहरी कार्यालय, लहानलाई मासिक १ लाख रूपैयाँ, लहानस्थित एपिएफ डिएसपीलाई मासिक ५० हजार रूपैयाँ बुझाउँदै आएकाछन् ।

त्यस्तै, जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखहरूलाई मासिक २ लाखका दरले बुझाइरहँदा बिष्णुले अनुसन्धान प्रमुखलाईचाहीँ १ लाख रूपैयाँ बुझाईरहेको बिश्वस्त स्रोतले जानकारी दियो ।

उता, प्रमुख जिल्ला अधिकारीलाई १ लाख रूपैयाँ मासिक बुझाउँदै आएका बिष्णुले नेपाल प्रहरीका डिआईजी र सशस्त्र प्रहरीको डिआईजीलाई क्रमशः मासिक २ लाख रूपैयाँका दरले बुझाउँदै आएका छन् ।

प्रहरी प्रशासनलाई दामासाही रकम बुझाएर खुल्लामखुल्ला मदिरा तस्करीमा सक्रिय बिष्णुले कस्मेटिक सामाग्रीहरू पनि भारततर्फ तस्करी गर्दै आएका छन् ।

दैनिक ५० लाख रूपैयाँ बराबरको मदिरा भारतको बिहार तस्करी गर्दै आएका बिष्णु नै यस्ता तस्कर हुन्, कतिपय प्रहरी प्रशासन सम्बद्वहरू महिनाबारी रकम बुझ्न घरमै जाने गरेका छन् ।

000

मदिरा तस्करीको आरोप लागेका बिष्णु भन्छन्- मेरो चरित्र हत्या गर्न खोजियो

दृष्टिन्युजमा प्रकाशित समाचारप्रति विष्णुले खण्डन गरेका छन् । उनले आफ्नो चरित्र हत्या गरिएको भन्दै भने, ‘मेरो चरित्र हत्या गर्ने प्रयास गरियो । उधोग वाणिज्य महासँघ सिरहाका सल्लाहाकार समेत रहेका बिष्णुले आफूलाई मदिरा तस्करको आरोप लगाउनु खेदजनक रहेको बताए ।

गमरियास्थित आफ्नै निबासमा मदिराको होलशेल सञ्चालन गर्दै आएका बिष्णुले हुलाकी राजमार्गको ठाडी देखी बरियारपटी क्षेत्रका होटलहरूमा मदिरा वितरण गर्दैआएको बताउँदै भने– ‘मेरो मदिराको ब्यापार फस्टाएकाले आरिस गर्नेहरूले मलाई भारत तर्फ मदिरा तस्करी गरेको आरोप लगाएका हुन् । उनिहरूको आरोपमा कुनै सत्यता छैन । आरोप प्रमाणित गर्न मेरो चुनौती भयो ।’

सरकारलाई राजश्व तिरेर नेपालमै कारोबार गर्ने भएकाले प्रहरीप्रशासनलाई आफूले महिनावारी बुझाउन जरूरी नभएको बताउँदै उनले अगाडी भने– ‘सरकारलाई बर्षको १०–१२ लाख राजश्व तिरेमछि प्रहरी प्रशासनलाई मैले किन पैसा बुझाउने ?’
अरूको प्रगती देखिनसक्ने नेपाली समाजको चरित्रको शिकार आफू बनेको दाबि गरे बिष्णुले । ‘म सोझो हिसाबले ब्यापार गर्ने मान्छे हो, लप्पन छप्पन जान्दिनँ, लगानी गरेर ब्यापार गरेपछि नाफा कमाउन सबै चहान्छन्’ बिष्णुले भने– ‘ब्यापारबाट रोजगारी सिर्जना गरेकोचाहीँ कसैले देख्दैन, न कसैले स्याब्बासी दिन्छन् ।’

देशको अर्थतन्त्र धारासायी बनिरहेको अबस्थामा आफूजस्ता ब्यापारीहरूको धैर्यता र लगनले अर्थतन्त्र चलयमान बनेको बताउँदै बिष्णुले भने– ‘देशको अर्थतन्त्र चलायमान तुल्याउन मद्दत गरेको मा धन्यवाद दिनुपर्नेमा उल्टै तस्करको उपमा दिएर बदनाम गर्नखोज्नु खेदजनक छ , आपत्तीजनक छ ।’

यसैबिच सशस्त्र प्रहरी बल नेपालका मधेश प्रदेश प्रमुख डिआईजी कालिदास धौवजीले सिरहा लगायत मधेश प्रदेशका आठै जिल्लाका सिमाक्षेत्रमा तस्करीमा शून्य सहनशिलताको नीति अपनाईएको बताएकाछन् ।

सिमाक्षेत्रको निगरानीलाई कडिकडाउ बनाईएको बताउँदै उनले भने– ‘मधेश प्रदेशमा तस्करका दिन गए ।’ तस्करी नियन्त्रणका लागि सिमाक्षेत्रका नागरिकहरूसँग समन्वय गरेर सुरक्षाब्यवस्था कडा बनाईएकाले बिगतमाजस्तो हुनेगरेको तस्करी रोकिएको धौवजीको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्