Logo
Logo

डब्लुएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ जेठ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग अमेरिकाले नाता तोडेको बताएका छन्।
उनले कोरोनाभाइरस फैलने कुरामा डब्ल्यूएचओले बेइजिङलाई जिम्मेवार बनाउन नसकेको आरोप लगाउँदै यस्तो बताएका हुन्।

बेइजिङलाई दण्डित गर्ने उद्देश्यका साथ विभिन्न उपायहरू सार्वजनिक गर्ने क्रममा उनले भने, “डब्ल्यूएचओमा चीनको पूर्णतः नियन्त्रण रहेको छ।“ अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको रकम वाशिङ्टनले अन्य निकायहरूलाई प्रदान गर्ने पनि ट्रम्पले बताए। अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै रकम प्रदान गर्नेमध्येमा पर्छ।
उसले गत वर्ष ४० करोड अमेरिकी डलर प्रदान गरेको थियो। अमेरिकामा कोरोना फैलिएयता नै ट्रम्पले डब्लुएचओको आलोचना गर्दै आएका छन् । यसको दोष उनले डब्लूएचओमाथि लगाएको भनेर समेत कतिपयले टिप्पणी गरेका छन् ।

यसै वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा दोस्रो पटक निर्वा्चित हुनका लागि चुनावी अभियान गरिरहेका ट्रम्पलाई महामारी व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गर्ने गरिएको छ। उनले भने चीनलाई कोरोनाभाइरस महामारी लुकाएको आरोप लगाउँदै आएका छन्। कोभिड १९ का कारण अमेरिकामा १ लाख २ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। अमेरिका महामारीका कारण विश्वमै सबैभन्दा धेरै मानिसहरूको निधन भएको मुलुक बन्न पुगेको छ।

ट्रम्पले के भनेका छन् ‘“आज हामी डब्ल्यूएचओसँगको सम्बन्ध तोड्दैछौँ र त्यो रकमलाई अन्य विश्वव्यापी जनस्वास्थ्य सम्बन्धी परोपकारी संस्थाहरूमा पठाउँछौँ,“ ह्वाइटहाउसमा सञ्चारकर्मीसँग बोल्दै उनले भने। “चिनियाँ सरकारको दुर्भावनाका कारण अहिले विश्व पीडित भइरहेको छ।“ उनले डब्ल्यूएचओलाई विश्वलाई भ्रमित पार्न चीनले दबाव दिएको आरोप पनि लगाए।

ट्रम्पले गत महिना डब्ल्यूएचओले आफ्नो आधारभूत काम गर्न नसकेको आरोप लगाउँदै अमेरिकाले उसलाई रकम नदिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्