Logo
Logo

म्याग्दीमा एक बालिकामा डेङ्गु पोजेटिभ


- दृष्टि न्युज/संवाददाता


म्याग्दी, १८ जेठ । हिमाली जिल्ला म्याग्दीमा शनिबार एक जना बालिकामा डेङ्गु भेटिएको छ । मंगला गाउपालिका–३ बरंजाकी १३ वर्षीया बालिकामा डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।

उच्च ज्वरो र टाउको दुख्ने समस्या भएर आएकी उनकी बेनी अस्पतालमा उपचार भैरहेको छ । म्याग्दीमा बैशाख यता १० जनामा डेङ्गुको संक्रमण भेटिएको छ । गत वर्ष १३ जना डेङ्गु संक्रमितको बेनी अस्पतालमा उपचार भएको थियो ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट गत वर्ष नेपालमा डेङ्गु संक्रमितको ज्यान समेत गएको थियो ।

५ देखि ७ दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण हुन् । टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्