Logo
Logo

प्राकृतिक स्रोतको उत्खनन


(रासस)


दमौली, ११ माघ : तनहुँको म्याग्दे गाउँपालिका–५ ले कच्ची बाटो खन्ने नाममा प्राकृतिक स्रोतको अवैध उत्खनन गरेको छ । सोही वडाको धुरपुरेटार भन्ने स्थानमा कच्ची सडक खन्ने भन्दै वडा कार्यालयले अवैधरूपमा प्राकृतिक स्रोतको उत्खनन गरी सङ्कलन गरेको हो । 



पहिल्यै बाटो खनिसकेको उक्त स्थानमा फेरि १२ मिटरको बाटो खन्ने भन्दै वडा कार्यालयले शुक्लागण्डकी नगरपालिका–९ दोभानको शिवशक्ति क्रसर उद्योगमार्फत सयाँै टिप गिट्टी, बालुवा उत्खनन गरी सङ्कलन गरेको भेटिएको छ । 

स्थानीय बासिन्दाको चर्काे विरोध भए पनि वडाध्यक्ष शिवबहादुर आलेले एकलौटी निर्णय गरी अवैधरूपमा गिट्टी, बालुवा सङ्कलन गरेको स्थानीयवासी बसन थापाले बताउनुभयो । डाँडामा रहेको तीन घरधुरीका लागि १२ मिटर चौडाइको बाटो खन्ने भन्दै वडा कार्यालयले बजेट विनियोजन गरी उक्त क्रसर उद्योगलाई जिम्मा दिई अवैधरूपमा प्राकृतिक स्रोतको उत्खनन गरेको थापाको भनाइ छ । 

उहाँले भन्नुभयो, “उक्त डाँडामा पहिल्यै बाटो पुगिसकेको छ । कारण जे बताइए पनि उद्देश्य भनेको प्राकृतिक स्रोतको उत्खनन गरी ओसारपोसार गर्नु नै रहेको छ ।” वडाध्यक्ष आलेले नयाँ बाटोको ट्र्याक खन्ने क्रममा प्राकृतिक स्रोतको 
कच्चा पदार्थ निस्किएको बताउनुभयो । उहाँले यसबारेमा गाउँपालिकामा उजुरी परेपछि हालै प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वको समूहले अनुगमन गरी उत्खननमा रोक लगाइसकेको जानकारी दिनुभयो । 

सयौँ टिप सङ्कलन गरिएको उक्त कच्चा पदार्थ गाउँपालिकाको आगामी माघ १६ गते बस्ने गाउँसभाको निर्णयमार्फत बोलपत्र आह्वान गरी बिक्री गर्ने थापाले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आफूहरूले प्राकृतिक स्रोतको उत्खनन गर्ने कुनै निर्णय नगरेको बताउनुभयो । उहाँले वडाले बाटो खन्ने क्रममा केही कच्चा पदार्थ सङ्कलन भएको हुनसक्ने भन्दै यसबारेमा गाउँसभाले निर्णय गर्ने बताउनुभयो । 

जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले यसबारेमा आफूलाई कुनै जानकारी नभए पनि कसैले पनि अनुमति नलिइकन प्राकृतिक स्रोतको उत्खनन गर्न नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, “के रहेछ, म बुझ्छु, तर कसैले पनि अनुमति नलिइकन यसरी कच्चा पदार्थको उत्खनन र सङ्कलन गर्न पाउँदैन ।” 

पुनःनिर्माण नहुँदा टहरोमा पढाइ 

विसं २०७२ को भूकम्पले क्षति पुगेको तनहुँको एक विद्यालय भवन पुनःनिर्माण नहुँदा विद्यार्थी टहरोमा बसेर पढ्न बाध्य भएका छन् । तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेभञ्ज्याङस्थित बालकेश माध्यमिक विद्यालयको भूकम्पले भत्काएको भवन पुनःनिर्माण नहुँदा विद्यार्थी टहरोमा पढ्न बाध्य भएका हुन् । 

भवन भत्किएपछि कक्षा ४ र ५ का विद्यार्थी टिनले बारेको अस्थायी टहरोमा बसेर पढ्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक प्रेमकुमार बाचेले बताउनुभयो । “भवन पुनःनिर्माण नहुँदा विद्यार्थीलाई अस्थायी टहरामा राखेर पढाउनु परिरहेको छ”, उहाँले भन्नुभयो, “खुला टहरामा अध्यापन गराउँदा विद्यार्थीको पढाइप्रति ध्यान जान सकेको छैन ।” 

विद्यालयका शिक्षक अर्जुन थापाले बालबालिकालाई खुला टहरामा पढाउनु पर्दा समस्या हुने गरेको जानकारी दिनुभयो । जाडोमा र गर्मीमा टहरामा पढाउँदा समस्या हुने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गर्मीमा टिन तातेर बस्नै हुँदैन, हावाहुरी र पानी पर्दा टहरोभित्र पानी जमेर झन् समस्या थपिन्छ ।” 
शिक्षा मन्त्रालयले गत आर्थिक वर्षमा नै उक्त विद्यालयमा दुईकोठे पक्की भवन बनाउन रु १३ लाख ५० हजार विनियोजन गरे पनि विद्यालय भवन सम्पन्न भएको छैन । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख सूर्यप्रसाद क्षेत्रीले अघिल्लै आर्थिक वर्षमा भवन निर्माणको लागि रकम विनियोजन गरिएको र सो रकम फछ्र्यौट नभएसम्म उक्त विद्यालयमा नयाँ कार्यक्रम दिन नसकिने बताउनुभयो । 

उहाँले ब्रिटिस वेलफेयर सेन्टर दमौलीले पनि उक्त विद्यालयमा नयाँ पक्की भवन निर्माणको लागि बजेट विनियोजन गरेर सम्झौता गरिसकेको हुँदा अब तुरुन्तै नयाँ भवन निर्माणको लागि दबाब दिइने जानकारी दिनुभयो । दुई सय ५० विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा हाल ९ कक्षासम्म अध्यापन भइरहेको छ । आगामी शैक्षिक सत्रबाट कक्षा १० समेत सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्