Logo
Logo
स्थानीय तह उपनिर्वाचन

काठमाडौं-१६ मा त्रिपक्षीय रोचक प्रतिस्पर्धा, बालेन कसको पक्षमा ? 


5.6k
Shares

काठमाडौं । स्थानीय तहको रिक्त ४४ पदको उपनिर्वाचन हुँदै गर्दा सबैको नजर काठमाडौंमा परेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरसँगै काठमाडौं महानगरपालिकाको वडा १६ को वडाध्यक्षमा पनि धेरैको चासो छ । 

स्वतन्त्र रुपमा निर्वाचित भएका मेयर बालेन शाहको क्षेत्र भएकाले पनि यस क्षेत्रको अलि बढी चर्चा भएको हो । यहाँ ८ राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । यद्यपि उम्मेदवारी फिर्ता लिने समय भने बाँकी नै रहेको छ । निर्वाचन आयोगले मङ्सिर ५ गते बिहान ९ बजेदेखि दिउँसो एक बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको छ । 

काठमाडौं–१६ को बागडोर सम्हाल्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजुर किसान पार्टीलगायतका दल र केही स्वतन्त्र उम्मेदवारहरुबीच रस्साकस्सी छ । यो वडा काँग्रेसको पकड क्षेत्र मानिन्छ । यसअघि पनि कांग्रेसका नेता मुकुन्द रिजाल दूई पटक निर्वाचित भएका थिए । 

गत वर्ष भदौमा रिजालको निधन भएपछि अहिले यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यो क्षेत्रका मतदाताले लगातार दुई कार्यकलाका लागि रिजाललाई निर्वाचित गरेको हुँदा उनको निधनले क्षति व्यहोरेको काँग्रेस विरासत जोगाउने प्रयासमा छ । कांग्रेसले काठमाडौं–१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ । 

यता, नेकपा एमालेले भने यसपटक पनि पुरानै उम्मेदवार लक्ष्मीरत्न तुलाधरलाई उठाएको छ । कात्तिक २१ गते नै सर्वसम्मतले एमालेले तुलाधरलाई उम्मदेवार बनाएर मैदानमा पठाएको हो । २०७९ को निर्वाचनमा तुलाधर कांग्रेसको उम्मेदवार स्वर्गीय रिजालसँग सात सय नौ मतान्तरले पराजित भएका थिए । रिजाल ४ हजार १९ मतसहित निर्वाचित हुँदा तुलाधरले ३ हजार ३१० मत पाएका थिए । त्यसैले यस उपनिर्वानमा जित निकाल्दै कांग्रेससँग बदला लिने एमालेको दाउ छ । 

यसको अघिको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा झिनो मतान्तरले हारेको एमाले काँग्रेसको पकड भत्काउन जोडतोडका साथ लागेको छ । यस पटक आफूहरूको मत सुनिश्चित भएको एमालेको दाबी छ । पराजित भए पनि निरन्तर मतदाताको हकहितका लागि आवाज उठाइरहेको हुँदा आफ्नो व्यक्तित्वले पनि निर्वाचनमा सहयोग गर्ने तुलाधरको दाबी छ । 

दुई पटक सोही वडाबाट अध्यक्ष बनेर पूर्व राज्यमन्त्री समेत बनिसकेका रामवीर मानन्धरको कारबाही फुकुवा र एकीकृत समाजवादीमा गएकाहरू पनि आफ्नै पुरानो घर फर्काइरहेको हुँदा यसपटक जित्नेमा एमाले ढुक्क बनेको छ । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट यस वडामा ४ जना सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट मीनबबहादुर मानन्धर, रास्वपाबाट रोजिना श्रेष्ठ उम्मेदवार बनेका छन् । गत स्थानीय तहको निर्वाचनमा एक हजार पाँच सय ८९ मतसहित तेस्रो बनेको नेकपा एसको यसपटक माओवादीको सहयोगमा पहिलो बन्ने दाउमा छ । माओवादी र एकीकृत समाजवादीले काठमाडौंमा तालमेल गरेका छन् । 

सहमतिअनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयरमा माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ र काठमाडौं–१६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादीले समर्थन गरेको छ । सोही कारण यस क्षेत्रमा नेकपा एस निर्वाचन जित्ने लक्ष्यसहित चुनावी मौदानमा उत्रिएको छ । 

त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का न्हुजः मर्हजनलाई उम्मेदवार बनाएको छ । २३ वर्षीय मर्हजन सबैभन्दा कान्छा उम्मेदवार समेत हुन् । भक्तपुरमा मात्रै प्रभाव क्षेत्र मानिएको नमकिपाले काठमाडौँ–१६ मा सबैभन्दा कान्छा उम्मेदवारलाई उठाएको हो । 

दलहरूबिच कांठमाडौं–१६ को उपनिर्वाचन रोचक प्रतिस्पर्धा बन्ने देखिँदा काठमाडौं महानगरको नेतृत्व गरिरहेका स्वतन्त्र मेयर बालेनले कसलाई सहयोग गर्छन् भन्ने विषय अझ चासोमा छ । मेयर बालेनले राजनीतिक दलको उम्मेदवारलाई नभई ११ स्वतन्त्रमध्ये कसैलाई समर्थन गर्ने सम्भावना प्रबल छ । तर, मेयर बालेन कुनै स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएलान् ? र, काठमाडौंको १६ को नेतृत्वमा को आउलान् ? भन्ने चाहिँ आगामी दिनले नै देखाउने छ । 

प्रतिक्रिया दिनुहोस्