Logo
Logo

सशस्त्र प्रहरीद्वारा दुई दिनमै ६५ लाखको अवैध सामान नियन्त्रण


5.7k
Shares


लहान । सिरहामा सशस्त्र प्रहरीले दुई दिनमै करिब ६५ लाख रूपैयाँ बराबरको अवैध सामानहरू नियन्त्रणमा लिन सफल भएको छ । कार्तिक ११ देखी १३ गते दुईदिनको समयावधीमा सशस्त्र प्रहरीले ६५ लाख रूपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको हो ।

प्सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हे. क्वाटर सिरहा, सन्हैठाले उपलब्ध गराएको जानकारी अनुसार गएको दुई दिनमा १३ लाख ७४ हजार ७ सय ३४ रूपैयाँ बराबरको लत्ताकपडा, २० लाख २ सय ९० रूपैयाँ बराबरको किराना आइटम, ४ लाख ९६ हजार ७ सय बराबरको हार्डबेयरको सामाग्री नियन्त्रणमा लिएको हो ।

त्यस्तै गएको दुई दिनमै ५२ हजार ५ सय बराबरको इलोक्ट्रेनिक , ९६ हजार ९ सय ९० रूपैयाँ बराबरको अवैध औषधी, ४ लाख ९१ हजार ९० रूपैयाँ बराबरको मदिरा र २० लाख ५० हजार बराबरको सवारी साधन नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्रले बढायो सक्रियता

यता, सिरहाको दक्षिणबर्ती सिमाक्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलले गएराती पनि भारी मात्रामा मदिरा नियन्त्रणमा लिएको छ । अवैधरूपमा भारत छिराउन लागेको मदिरा सहित सशस्त्र प्रहरीले ढुवानीमा संलग्न एक थान स्करपियो समेत नियन्त्रणमा लिएको हो ।

सुरक्षा निकायले मधेश प्रदेशको आठ जिल्लामध्ये सिरहालाई संबेदनशिल जिल्लाबाट हटाएको छ । सिरहाको सन्हैठास्थित नं. ७ का गणपती एसपी नरेश भण्डारीले सिरहामा सिमाक्षेत्रमा हुँदैआएको तस्करी शून्यमा झार्न आफू र आफ्नो टिम प्रतिबद्व रहेको बताए । उनले भने, ‘सिमाक्षेत्रको चोरीतस्करी नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न सबैको साझा प्रयास आबश्यकता छ ।’

सशस्त्र प्रहरी बलको मधेश प्रदेश प्रमुख डिआईजी कालिदास धौवजीले तस्करीमा शून्य सहनशिलता अभियान अन्तर्गत मधेश प्रदेशका आठै जिल्लाका सिमाक्षेत्रको सुरक्षाब्यवस्था थप कडाई गरेकाले दिनहुँ भारी मात्रामा चोरीतस्करीका सामान पक्रन सफल भएको बताए । उनले प्रतिबद्वता जनाउँदै भने, ‘मधेश प्रदेशलाई तस्करीमुक्त बनाउने लक्ष्यप्रती म दृढ छु ।’

रोकिएन बिष्णुको मदिरा तस्करी

सिरहामा सशस्त्र प्रहरीको सक्रियता बढे पनि सिरहाका चर्चित मदिरा तस्कर बिष्णु भगतको मदिरा तस्करी भने रोकिएको छैन ।
गमरियाका स्थायिबासी बिष्णुले यतिबेला नबराजपुर गाउँपालिकाको कुसुण्डी नाकाबाट हरेक रात मदिरा भारत तर्फ निर्यात गरिरहेछन् । सिरहाका इञ्चार्ज एसपी भण्डारीको आँखा छलेर बिष्णुको मदिरा तस्करीलाई स्थानिय प्रहरीप्रशासनले अझै साथ दिईरहेको स्रोत बताउँछ ।

गमरियास्थित घरमै गोदाम खोलेका उनले ठाडीदेखि बरियारपट्टीसम्म दशगज्जामै कानुनबिपरित सञ्चालित होटलहरू मार्फत बिष्णुले सहजै रूपमा मदिरा भारत तस्करी गर्दै आएको बताईन्छ ।

बिष्णु निर्धक्कसँग भन्छन्, ‘ठाडी देखी बरियारपट्टीसम्म दशगजा छेउमा खुलेका १ सय २० होटलहरूमा मदिरा सप्लाई गर्छु । ति होटलहरूबाट रक्सि भारत छिराउन ५ मिनेट पनि लाग्दैन । रक्सिको प्रति कार्टुन एक सय रूपैयाका दरले असुलेर सबैलाई बाँड्छु । त्यसैले मेरो काममा कसैले अवरोध गर्दैनन् ।’

तिनै होटलहरूमा दिउँसो संकलित मदिरा मध्येरातमा सुरक्षाकर्मीको आँखा छलेर भारत छिराउने गरेकाछन् बिष्णुले । भारत, बिहारमा मदिरा निषेध रहेकाले मदिराको उच्च माग छ । नेपालकोभन्दा दोब्बर मुल्यमा बिक्ने भएकाले सस्तो मदिरा भारत तस्करी गर्छन बिष्णु ।

दशगजाका मदिरा पसल बन्द गर्न माग

स्थानियहरूले दशगजामा खोलिएका मदिरा पसलहरू बन्द गर्न प्रशासनसँग माग गरेका छन् । भारतिय ग्रहाकलाई लक्षित गरेर खोलिएका दशगजा आसपासका मदिरा पसलहरूमा हरेक रातजसो झैझगडा हुने गरेकाले सुरक्षासंबेदनशिलतालाई ध्यानमा राखेर ति होटलहरू बन्द गर्नुपर्ने स्थानियले माग गरेका हुन् ।

‘कतिपय अबस्थामा त दशगज्जाका होटलहरूमा राती झगडा हुँदा मान्छे मरेका घटना पनि छन्’ बरियारपटीका एक स्थानियले भने, ‘सस्तोमा पाईने भएकाले पारी (भारत) बाट मदिरा खानकैलागि आउनेहरूको भिड लाग्छ दशगज्जाका होटलहरूमा । मातेपछि झगडा हुन्छ । जुनसुकैबेला अप्रिय घटना घट्नसक्छ । त्यसैले यहाँ खोलिएका होटलहरू बन्द गर्नुपर्छ ।’

पत्रकारिताको आडमा तस्करी

त्यस्तै, सिरहाको माडर नाकामा दिलिप शहनी नाम गरेको ब्यक्तिले पत्रकारिताको आडमा तस्करी गरिरहेको जानकारी प्राप्त भएको छ ।

आफूलाई पत्रकार बताउने शहनीले सिमाक्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरूलाई समाचार लेखिदिने धम्कि दिदै अवैधरूपमा भारतबाट माछा ल्याएर माडरमा बेच्ने गरेको स्रोतले बतायो ।

त्यस्तै नेपाल–भारत आयात÷निर्यातमा संलग्न स्थानिय ब्यापारीहरूसँग समाचार छापिदिने डर देखाएर महिनाबारी रकम असुलिगरिरहेको पिडित ब्यापारीहरूको भनाई छ भने सिरहाका चर्चित मदिरा तस्कर बिष्णुको नातामा पर्ने भएकाले बिष्णुको मदिरा तस्करीमा पनि शहनीको संलग्नता रहेको स्वंय बिष्णुले स्विकार गरेकाछन् ।

यता नेपाल पत्रकार महासँघ सिरहा शाखाले दिलिप शहनी नाम गरेको मान्छे पत्रकार महासँघको सदस्य नरहेको स्पष्ट पारेको छ । डिआईजी धौवजी भन्छन्, ‘जसले पनि पत्रकार भन्ने चलन रहेछ । तर पत्रकार भनेर भेट्न आउनेहरू कसैले पनि समाचारचाहीँ लेखेको पाईएन । नक्कली पत्रकारहरूबाट सचेत छौँ ।’

प्रतिक्रिया दिनुहोस्