Logo
Logo

बिहेको विषयमा विवाद हुँदा प्रेमिकाको हत्या


819
Shares

जनकपुरधाम । धनुषामा एक युवाले आफ्नी प्रेमिकाको हत्या गरेका छन् । धनुषा प्रहरीका अनुसार बिहे गर्ने विषयमा विवाद हुँदा धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको खुलेको हो ।

जनकनन्दिनी गाउँपालिका ४ खजुरीस्थित आमा खोलामा हत्या गरी प्लास्टिकको बोरामा राखेर फालेको अवस्थामा गत मंसिर ८ गते दिउँसो साढे ३ बजे रेखाको शव फेला परेको थियो । उनको हत्या आरोपमा धनुषा प्रहरीले जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
डिएसपी सिंहका अनुसार मृतक रेखाको हत्याका मुख्य आरोपी रामललित हुन् । चारवर्षदेखि रेखा र रामललितबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने विषयमा भएको विवादमा हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानको क्रममा रेखाको परिवारले रामललितसँग विवाह गर्न अस्वीकार गरेको र रेखाले आफ्नो घरबाट भागेर रामललितलाई बिहे गर्न दबाब दिएको, तर रामललित नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाइसकेपछि मात्र विवाह गर्ने भनेपछि विवाद आएको खुलेको छ ।

रामललितले रेखालाई घटनास्थलमा भेटघाटको लागि बोलाउन साथी ज्ञानेन्द्र र रमेशको सहयोग लिएका थिए । त्यहाँ रेखा आएपछि उनले ब्लेडले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट देखिएको डिएसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्