Logo
Logo

पासाङमाथि नैतिक प्रश्न


शरद् रिजाल

7.6k
Shares

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र)को सक्रिय राजनीतिमा फर्किने लगभग निश्चित भइसकेको छ । यसबारे आगामी पुसमा बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ ।

माओवादी नेताहरूका अनुसार पासाङलाई उपाध्यक्ष दिने सहमति भइसकेको छ । सुरुमा वरिष्ठ उपाध्यक्षमा दाबी गरेका पासाङ अन्तिममा उपाध्यक्ष पदमै चित्त बुझाउन राजी भएका छन् ।

करिब दुई कार्यकाल मुलुककै दोस्रो संवैधानिक पदमा रहेर फेरि सक्रिय राजनीतिमा फर्किन लागेपछि पासाङको पुनरागमनले माओवादीभित्र र बाहिर समेत नयाँ अभ्यासको थालनी हुन लागेको भन्दै चर्चा परिचर्चा भइरहेको छ ।

खासगरी माओवादीको सशस्त्र युद्धमा सैन्य क्षेत्रबाट प्रमुख भूमिका खेलेका पासाङ शान्तिपूर्ण राजनीतिमा प्रवेश गरे यता कमै लाभ लिने माओवादी नेतामध्ये एक हुन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लाभको पदमा दाबी गरेका उनलाई माओवादीले उपराष्ट्रपति बनाएको थियो । सशस्त्र संघर्ष हुँदै शान्तिपूर्ण राजनीतिक कालमा समेत प्रचण्डको अत्यन्त निकटस्थ रहेका पासाङ माओवादीको पूर्व जनमुक्ति सेनाका डेपुटी कमाण्डर समेत हुन् ।

माओवादीमा रहँदा इमान्दार नेताको छवि बनाएका उनलाई पार्टीमा प्रचण्डको ‘आदेशपालक’ नेताका रुपमा समेत चित्रित गरिन्थ्यो । पासाङ उपराष्ट्रपति पदबाट बाहिरिए यता भने पारिवारिक र सचिवालय सदस्यको विवादास्पद गतिविधिले आफ्नो पूर्ववत् छविलाई यथावत राख्न सकेनन् ।

उनी उपराष्ट्रपति पदमा रहँदा सचिवालयसहित दुई पुत्र जितेन्द्र र दिपेशको सुन तस्करीमा संलग्नताको आरोपले बारम्बार विवादमा आइरहे । दुबै छोराको सुन तस्करीमा संलग्न रहेको अनकौं प्रमाण बाहिरिएपछि उनको पनि शंकास्पद भूमिका रहेको आशंका गरिएको थियो । तथापि, सत्ता र शक्तिको आडमा उनलाई अनुसन्धानको दायरामा नै ल्याइएन ।

पासाङको जेठो छोरा जितेन्द्रले बुबा उपराष्ट्रपति हुँदा आफू त्यसको सचिवालय सदस्य रहेको परिचय पत्र देखाएर चिनियाँ व्यापारीसँग सुन ल्याई पैसा नदिएको भिडियो सार्वजनिक भएको थियो । उपराष्ट्रपतिको सचिवालयको परिचय पत्र बन्धकी राखी सुन ल्याएर फरार भएपछि तिनै चिनियाँ व्यापारीहरूले पासाङपुत्र जितेन्द्रको ठगी धन्दा भिडियो मार्फत सार्वजनिक गरेका थिए ।

उक्त भिडियो सार्वजनिक भएपछि पासाङपुत्र जितेन्द्रले देश छाडेका छन् भने, अर्का छोरा दिपेश पनि सुन तस्करीको आरोपसँगै सहकारी ठगीमा समेत मुछिएका छन् । बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा पक्राउ परेर धरौटीमा छुटेका दिपेशलाई सुन तस्करी जाँचबुझ आयोगले बयानसमेत लिएको थियो ।

राज्यको अभिभावकीय भूमिकामा रहेर बिदा भएकाहरु सक्रिय राजनीतिमा फर्किने विषय संविधानतः अवरोध नभए पनि नैतिकरुपमा भने प्रश्न उठेको छ । यसले विगतमा उनीहरू पदमा बहाल रहँदा निर्वाह गरेको भूमिकामाथि पनि प्रश्न उठेको छ । पूर्वउपराष्ट्रपति पासाङमाथि उठेका नैतिक र कानूनी प्रश्नको निरूपण नगरी माओवादी स्वागत गर्न आतुर देखिन्छ ।

पासाङका छोराहरुमात्रै होइन, उनी उपराष्ट्रपति पदमा बहाल रहँदा उनको सचिवालयमा रहेका सल्लाहकार पनि सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए । तत्कालीन उपराष्ट्रपति पुनका सल्लाहकार रहेका जीवन गुरुङ पनि त्रिभुवन विमानस्थलमा पक्राउ गरिएको १४ किलो सुन तस्करी प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

यस्तै, त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको ६० केजी सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङ पनि पासाङको परिवारसँग निकट सम्बन्ध रहेको तस्बिर सार्वजनिक भएका थिए ।

६० केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङका श्रीमती भनिएकी अमला रोकासँग पासाङ परिवारको निकट सम्बन्ध रहेकै कारणले पनि यो विषय थप शंकास्पद बनेको थियो । उनै पासाङ दुई कार्यकाल राज्यकै अभिभावकी भूमिकामा रहेर उपराष्ट्रपति पदको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा फर्किन लागेका उनीमाथि नैतिक प्रश्न उठाइएको छ ।

नेपालको गणतान्त्रिक शासनकालको करिब दुई दशकको अवधिमा हाल पदमा बहाल रहेका राष्ट्रपति रामचन्द्र पौडेलसहित तीन जना राष्ट्रपति र उपराष्ट्रपति भएका छन् ।

एमालेबाट राष्ट्रपति भएकी विद्या भण्डारी पनि सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । उनले पार्टी सदस्यतासमेत नवीकरण गरिसकेको समाचारहरू पनि सार्वजनिक भएका थिए । यद्यपि, एमालेले भने औपचारिकरुपमा यसको पुष्टि गरिसकेको छैन ।

अहिले राज्यको अभिभावकी भूमिकामा रहेर बिदा भएकाहरू सक्रिय राजनीतिमा फर्किने विषय संविधानतः अवरोध नभए पनि नैतिकरुपमा भने प्रश्न उठेको छ । यसले विगतमा उनीहरू पदमा बहाल रहँदा निर्वाह गरेको भूमिकामाथि पनि प्रश्न उठेको हो । राज्यको अभिभावकी भूमिकामा पुगेकाहरू त्यस पदमा बहाल रहँदा कति साझा चरित्र निर्वाह गर्न सके भन्ने गम्भीर प्रश्न यसले उठाएको छ ।

दलीय पक्षधरता अनुरुप काम गर्दा ती अभिभावकी भूमिका निर्वाह गर्नुपर्ने गरिमामय संस्थाहरूप्रति सबैको अपनत्वबोध हुन सक्यो कि सकेन ? फेरि त्यही दलीय पक्षधरतालाई नै थप पुनर्पुष्टि हुनेगरी उनीहरूको राजनीतिक पुनरागमन हुन लागेको छ ।

राज्यकै अभिभावकी भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोकेर राष्ट्रपति, उपराष्ट्रपति पदमा आसीन भएकाहरूले औपचारिक रुपमा दलीय आबद्धता त्यागे पनि पार्टी पक्षधरताबाट भने मुक्त हुन नसकेको दृष्टान्त विगतदेखि नै छ ।

संवैधानिक निकायमा रहेर संविधानले निर्दिष्ट गरेको दायित्वबमोजिम पदीय भूमिका निर्वाह गर्ने भन्दा पनि दलगत आबद्धताको आधारमा निर्देशित भएर आफ्नो कार्यकालमा कतिपय पूर्वराष्ट्रपति विवादमा समेत तानिएका थिए ।

यसअघि पदमा बहाल रहँदा पार्टीप्रतिको पक्षधरता देखाएको भन्दै पूर्वउपराष्ट्रपतिले राष्ट्रपति भण्डारीको निकै आलोचना खेप्नु परेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक निर्णय एमालेको कार्यकर्ता जसरी उनले सदर गर्ने गर्थिन् । संसद् विघटन उनको ठूलो भूल थियो ।

पूर्वराष्ट्रपति भण्डारीको कार्यकालमा सरकारका कतिपय एकपक्षीय निर्णयहरू समेत सदर गरेपछि उनी विवादमा तानिएकी थिइन् । त्यसबाहेक पारिवारिक र सचिवालय सदस्यका कारणले भने उनी कहिल्यै कुनै पनि विवादमा परिनन् । तर, सोही समयमा उपराष्ट्रपति पदमा बहाल रहेका पासाङ भने परिवारका सदस्य र आफ्नै सचिवालयका कारण पटक पटक विवादमा तानिएका छन् ।

पूर्वपार्टीमै फर्किन लागेका पासाङ उपराष्ट्रपति पदमा बहाल रहँदा उनका आफ्नै परिवारका सदस्य र सचिवालयमा रहेका सल्लाहकारले शक्तिको दुरुपयोग गरी अवैध धन्दा सुरु गरेका थिए । उपराष्ट्रपतिबाट पदबाट बाहिरिए पछि पासाङ परिवारको दहचोकमा निर्मित भव्य बंगला पनि सर्वत्र आलोचित भइरहेको छ ।

उनीमाथि उठेका यी नैतिक र कानूनी प्रश्नको निरूपण नगरी माओवादी स्वागत गर्न आतुर देखिन्छ । यसले माओवादीमा नैतिकताको चरम अभाव रहेको दर्साउँछ । उसोत माओवादीका अनेकौं नेताहरू विभिन्न प्रकरणमा मुछिए पनि पार्टीमा राजनीतिक सक्रियता कायमै राखेका छन् । केही समय अघि उपमहासचिव वर्षमान पुन रासायनिक मल खरिद घोटाला प्रकरणमा मुछिएको समाचार सार्वजनिक भएको थियो ।

चिनियाँ व्यापारीहरुसँग ऋण सम्झौता गरी ३५ सय मेट्रिक टन रासायनिक मल स्वदेश भित्र्याउन प्रमुख भूमिका खेलेका पुनसहित अन्यले रकम भुक्तानी नगरेको आरोप लागेको छ । ती चिनियाँ व्यापारीहरूले कारबाहीको माग गर्दै माओवादी पार्टी कार्यालय पेरिसडाँडामा पत्र बुझाएका थिए ।

पार्टीभित्र व्याप्त यी र यस्तै प्रवृत्तिले पनि पासाङको सक्रिय राजनीतिमा पुनरागमनको विषयमा माओवादी नेताहरू उदार देखिन्छन् । माओवादी नेताहरुले पासाङको आसन्न सक्रिय राजनीतिमा आगमनलाई लिएर अन्तर्राष्ट्रिय अभ्यास रहेको हवाला दिँदै आएका छन् । तर उनीमाथि उठेको विभिन्न नैतिक प्रश्नमा भने उनीहरूले कुनै प्रतिक्रिया दिन असमर्थ देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्