Logo
Logo

अनियमितताको विरोधपछि स्नातकोत्तरको भर्ना स्थगित


- दृष्टि न्युज/संवाददाता



चितवन, ११ माघ । परीक्षामा अनियमितता भएको भन्दै विरोध भएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकाायको स्नातकोत्तर तहको भर्ना स्थगित गरिएको छ ।
विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगित गरिएको जानकारी दिएको हो । गत ५ माघमा लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै तालाबन्दी गरेपछि भर्ना प्रक्रिया स्थगित गरिएको हो । सो संकायका डिन डा शारदा थपलियाले प्राध्यापक र विद्यार्थीबाट गुनासो आएपछि हालका लागि भर्ना स्थगित गरिएको बताए ।
भर्ना प्रक्रियामा कुनै अनियमितता नभएको भन्दै उनले यस विषयमा विरोध गरिरहेका प्राध्यापक, विद्यार्थीलगायतसँग छलफल गरी उनीहरुलाई कुरा बुझाएर मात्र भर्ना लिने थपलियाले बताए । आफूले विरोध जनाएकालाई वार्तामा बोलाएको बताउँदै उनले भर्ना प्रक्रिया नियमसम्मत भएकाले कुनै समस्या नहुने उल्लेख गरे ।
प्रवेश परीक्षामा अनियमितता भएको भन्दै विश्वविद्यालयकै प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल विद्यार्थी संघलगायतले विरोध जनाएका छन् भने नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले सो विषयमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्