Logo
Logo

दशकपछि मुहार फेर्दै ‘वाटरपार्क’


- दृष्टि न्युज/संवाददाता


बाँके, १ असार । दैलेखकी लक्ष्मी प्याकुरेल शनिबार बेलुकी निकै खुशी हुनुहुन्थ्यो । “नेपालगञ्जमै यति राम्रो मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ त्यसबाट निकै सन्तुष्ट भएकी छु”, साथीहरूसँग बेलुका वाटरपार्क घुम्न गएकी लक्ष्मीले भन्नुभयो, “एकछिन वाटरपार्क क्षेत्रमा बिताउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ, यसको सुन्दरता देख्दा जेठको गर्मीमा नेपालगञ्जमै रारा ताल भएझैँ महसुस भयो ।”

वाटरपार्कलाई बाँकेको प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्नसके यसले वाटरपार्कको मात्रै होइन नेपालगञ्जकै मुहार फेर्नसक्ने शनिबार घुम्नकै लागि वाटरपार्क पुगेका सल्यानका दिलबहादुर केसी बताउनुहुन्छ । यी दुई उदाहरण मात्रै हुन् । नेपालगञ्जमा गर्मी शुरु भएसँगै वाटरपार्क घुम्न, बेलुकाको चिसो हावामा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक नागरिक त्यहाँ पुग्ने गर्छन् ।

सुरक्षाका हिसाबले वाटरपार्कको वरिपरि रेलिङ निर्माण गरिएको छ । आसपासमा खुला चौर भएकाले पनि चिसो हावा आउँछ । चुच्चे आकारको फराकिलो वाटरपार्कको सुन्दरताले समय बितेको आन्तरिक पर्यटकलाई पत्तै हुँदैन । नेपालगञ्जको पुष्पलाल चोकको पश्चिमतर्फ रहेको वाटरपार्कले एक दशकपछि मुहार फेर्दैछ । यसको विकासका लागि पहिलोपटक २०५० सालतिर गुरुयोजना बनेको दस्तावेजमा दखिन्छ ।

त्यतिबेला बनाएको गुरुयोजना कार्यान्वयन हुन सकेन । गुरुयोजनाले कोरेको महत्वाकांक्षी सपना थियो, ‘नयाँ टाउन प्लानिङ’ । हिजो र आज यहाँको भौतिक विकासमा सबैभन्दा ठूलो बाधक हो, ढल निकास । शहरलाई सुन्दर र समृद्ध बनाउन विविध योजना पनि नबनेका होइनन् तर ती योजना र दृष्टिकोण कार्यान्वयनमा ल्याएको देखिएन । त्यतिबेला यहाँका राजनीतिक दल र नागरिक समाज पनि विकासको मामिलामा मौन बसेको नेपालगञ्जवासी बताउँछन् ।

नेपालगञ्जलाई सम्भावनाको शहरसँगै पश्चिम नेपालको ‘गेट वे’ मानिन्छ । नेपालगञ्ज टिकेकै उसको आफ्नो इतिहासले नै भएको नेपालगञ्जवासीको भनाइ छ । यस्तै पीडामा रुमलिएको, विकास तथा संरक्षणको पर्खाइमा वर्षौंदेखि गिज्जाइरहेको योजनामध्येको एउटा हो ‘वाटरपार्क’ गुरुयोजना पनि । अहिले वाटरपार्क निर्माण अन्तिम चरणमा पुगेको छ । यतिबेला वाटरपार्कमा सौन्दर्य वा यसको मर्मतको काम चलिरहेको छ ।

तेह्र वर्ष पुरानो वाटरपार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ रहनेछ भने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने डिजाइन छ । तलाउलाई डुङ्गा विहार र पौडी पोखरीका रुपमा विस्तार गरिँददैछ । विसं २०६५ मा शुरु भएको वाटरपार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिँदैछन् । वरिपरि पक्की सडक निर्माण भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ मा पर्ने पुरानो तथा ऐतिहासिक पर्यटकीय गुरुयोजनाले उपमहानगरकै पहलमा दशकपछि आफ्नो रूप फेर्दैछ । वाटरपार्क क्षेत्रमा शहरीकरण हुँदैछ । दशकअघिको अलपत्र योजना निर्माणको अन्तिम चरणमा पुगेपछि सार्थकता पाउन थालेको उपमहानगरपालिकाका प्रमूख डा धवलसम्शेर राणा बताउनुहुन्छ । विसं २०६४ मा बस्ती विकासका लागि वाटरपार्क जग्गा एकीकरण शुरु भएको थियो ।

नगरप्रमुख राणाका अनुसार वाटरपार्क क्षेत्रभित्र छ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण हुनेछन् । नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिने उहाँले बताउनुभयो । गुरुयोजनाका साथ अघि बढेको वाटरपार्कलाई नौका विहारका रुपमा विकसित गर्ने उपमहानगरको लक्ष्य छ । यस्तै पर्यटन प्रवद्र्धनसँगै तालमा माछा पालेर आम्दानीको स्रोत बढाउने लक्ष्य पनि उपमहानगरको छ ।

प्रतिक्रिया दिनुहोस्