Logo
Logo

के छ लकडाउनमा टेलिकमले सेवा सुविधामा गरेको नयाँ व्यवस्थामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ असार । कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी निम्नानुसारको व्यवस्था गरेको छ ।

कम्पनीले आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि यस्ता महशुलमा नियमानुसार बिलम्ब शुल्क लागु हुनेछ ।

यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागु हुनेछ ।

नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहने छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच मिति २०७४ बैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौता अनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो । ती स्थानहरुलाई नेपाल सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरुमा २०७६ चैत्र २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुनेगरी पुनः २ महिना निस्शुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैगरी कम्पनीले एफटिटीएच सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट शुरु गरेको छ । एउटै लाइनबाट फोन, डाटा र टिभी सेवा समेत उपलब्ध गराउन सकिने एफटिटीएच सेवाको मर्मत सम्बन्धी सिकायतका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये ४ नम्बर थिची बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिधै अप्रेटरलाई गुनासो टिपाउन सकिने छ ।

लकडाउनको अवधिमा कम्पनीका भ्वाइस र डाटा सेवाप्रति ग्राहकहरुको आकर्षण र सोही अनुसार उपयोगमा वृद्धि भएको तथा हाल एफटिटीएच सेवामार्फत उपलब्ध हुने डाटा सेवाको मागमा समेत वृद्धि भइरहेको अवस्थामा सो सेवाको गुनासो व्यवस्थापनबाट ग्राहकहरु थप लाभान्वित हुने विश्वास लिइएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्