हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डमा दुई ठाउँमा पहिरो, हटाउन शुरु


Published On : 22 June, 2020

हेटौँडा, ८ असार । हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिए ।

लमजुङ– पहिरोले लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीशहर चामे सकड पुनः अवरुद्ध भएको छ । शनिबार बिहानबाट गएको पहिरोले अवरुद्ध सडक आइतबार साँझबाट पुनः शुरु भए पनि आज बिहान यस सडकअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

आइतबार रातिबाट परेको वर्षाले लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकास्थित रामबजार, स्यागे, गोप्टेभिरलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनले भने, “सडक अवरुद्ध भएपछि यतिबेला स्काभेटरको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको छ ।

सकड अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सञ्चालन हुने सवारीसाधनदेखि मानिस रोकिएको उनको भनाइ छ । सडक कति बेला शुरु हुने भनेर यकिन भन्न नसकिने प्रहरीको भनाइ छ । बेँसीशहर–चामे कच्ची सडक ६५ किलोमिटरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्