Logo
Logo
कला-जम्काभेट

‘विवाहपछि झन् धेरै काम गर्ने अवसर पाएँ’


6.1k
Shares

नेपाली सांगीतिक क्षेत्रमा गायिका जुनु रिजाल काफ्लेको नामै काफी छ । नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक, लोकपपलगायत गीत गाउँदै आएकी जुनका थुप्रै गीत लोकप्रिय छन् । ओखलढुंगामा जन्मिएको भएपनि विराटनगरमा हुर्किएकी जुुनु ‘फूल मन्जरी’, ‘कसले सुरुवात’, ‘फूल टिप्ने मन भए’जस्ता गीतबाट चर्चामा आएकी हुन् ।

सांगीतिक क्षेत्रमा करिब दुई दशक विताइसकेकी जुनु रेकर्डिङका अलावा विभिन्न स्थानमा हुने मेला, महोत्सवहरुमा व्यस्त रहँदै आएकी छन् । बाल्यकालदेखि नै गायनप्रति रुचि राख्ने जुनुले सांगीतिक क्षेत्रलाई कर्मथलो बनाएकी छन् । चर्चित गायक रामचन्द्र काफ्लेसँग बैवाहिक सम्बन्ध गाँसेपछि यी दुवैजना संगीतमै रमाउँदै आएका छन् । गायिका जुनु रिजाल काफ्लेसँग रेजिना पाण्डेको जम्काभेट :

आजभोलि संगीतयात्रा कसरी चलिरहेको छ ?
राम्रै छ । गीतसंगीतमै व्यस्त हुन्छु । प्रायः हरेकदिन रेकर्डिङ र स्टेज कार्यक्रमहरु भइरहन्छ । यसका साथै, रियाज त छँदै छ भने योबाहेक थप अरु जिम्मेवारी पनि मसित छ । मेरा स–साना दुई नानीहरु छन्, उनीहरुलाई हेर्ने र पढाउने काममा पनि व्यस्त छु ।

घरपरिवारको काम गर्न कतिको ग्राह्रो छ ?
घरपरिवारको साथ र स्पोर्टले गर्दा नै मलाई सहज भएको छ । घर, माइती सबैले मलाई सक्दो साथ दिनुभएको छ । जसले गर्दा मलाई काम गर्न निकै सहज छ । म आफुलाई भाग्यमानी महिला सम्झन्छु ।

तर, कलाकारलाई विवाहपछि काम गर्न ग्राह्रो हुन्छ भन्छने नि ?
होइन, मलाईचाहिँ सहज भयो । विवाहपछि झन् धेरै काम गर्ने अवसरहरु पाएँ । श्रीमान रामचन्द्र काफ्ले पनि यही क्ष्ोत्रको भएर होला, मलाई अझ सहज भइरहेको छ ।

महिला अगाडि बढ्न घरपरिवारको भुमिका कस्तो हुनुपर्छ ?
एकजना महिला गृहीणी अगाडि बढ्नका लागि परिवारको ठुलो भुमिका हुन्छ । परिवारिक सपोर्टबिना अघि बढ्नु भनेको बैशाखीको साहारा जस्तै हो । जहाँ, परिवारिक सपोर्ट हुन्छ, त्यहाँ अघि बढ्न धेरै सजिलो हुन्छ ।

तपाइँलाई सांगीतिक क्षेत्रमा लाग्न परिवारको के कस्तो सहयोग छ ?
विवाह अघि आमा, दाई भाउज्युको राम्रो साथ पाएँ । विवाहपछि श्रीमान, सासु, दिदीबहिनी सबैको सहयोग र साथ पाएँ र पाइरहेकी छु । त्यसैले त म आफुलाई भाग्यमानी ठान्छु ।

कतिपय महिलाले अझै पारिवारिक हिंसामा गुम्सिरहेको पाइन्छ नि ?
हो, यो देख्दा र सुन्दा दुःख लाग्छ । छोरी–बुहारीको रहरलाई पनि परिवार आँट दिने हो भने धेरै महिलाहरु अघि बढ्न सक्छन् । तर, सबैले बुझदैन्, दुःख लाग्छ ।

महिला हिंसा बढ्नुको कारण के हो ?
पितृसतात्मक सोच अझै छ । र, अर्को कुरा कता कता अहंम पनि हो कि जस्तो मलाई लाग्छ ।

तपाइँ र श्रीमान दुवैजना सांगीतिक क्षेत्रमा हुनुहुन्छ, एकअर्कामा सहकार्य कस्तो छ ?
कामका कुराकानी भइरहन्छ । कतिपय ठाउँमा हामीसँगै साँगीतिक कार्यक्रमा जान्छौँ । मैले श्रीमानसँग धेरै कुराहरु सिक्ने अवसर पाएकी छु । उहाँ राम्रो संगीतकार र गायक हुनुहुन्छ । जसले मलाई पनि अघि बढ्न मद्दत पुगेको छ ।

रामचन्द्रजीको के कुरा तपाइँलाई मनपर्छ ?
उहाँ सहयोगी हुनुहुन्छ । सधैं सकारात्मक सोच राख्नुहुन्छ । मलाई उहाँका यी कुराहरु मनपर्छ ।

श्रीमानसँग झगडा हुन्छ कि हुँदैन ?
बेला बेला हुन्छ । सधैं बिचार मिल्छ भन्ने पनि छैन । पारिवारिक कुरा, कामको कुरा नमिल्दा साना–तिना लडाइँ पर्छ । भनिन्छ नि, श्रीमान श्रीमतीको झगडा परालको आगो भनेर सेलाइहाल्छ ।

गीतसंगीतमा लाग्ने तपाइँको योजना कसरी बन्यो ?
बाल्यकालमा अरुले गाएको देखेर÷सुनेर मलाई पनि गाउने रहर खुवै लाग्थ्यो । त्यही रहरले नै मलाई संगीतमा ल्याइपु¥यायो । सस्वतीको आर्शिवाद पाएर स्वरले पनि साथ दियो ।

हिजो र आजको संगीतमा के फरक पाउनुभएको छ ?
हिजोभन्दा आज सांगीतिकक क्षेत्रमा लाग्न सहज छ जस्तो मलाई लाग्छ । अहिले अवसरहरु धेरै छन् । सामाजिक सञ्जाल भयो, टेक्नोलोजीका कुरा भयो । अहिले एल्बम निकाल्ने झन्झट पनि छैन । आफनै युट्युब च्यानलबाट पनि आम्दानी गर्न सकिन्छ । पहिले गीत रेकर्ड गराउन महिनौँ कुर्नुपर्ने अवस्था थियो । हजारौँ खर्चेर सीडी र एल्बम निकाल्दा चुनौती हुन्थ्यो । तर, अहिले त्यो अवस्था छैन ।

तपाइँलाई बढीजस्तो कस्ता गीत गाउन रहर लाग्छ ?
राम्रा–राम्रा गजल गाउन पाए हुन्थ्यो भन्नेचाहिँ भइरहन्छ । किनकि गजल गाउदा मलाई आनन्द लाग्छ । आजसम्म आधुनिक, लोक, गजल गरेर लगभग सात सय जति गीत गाइसकेकी छु ।

गायनमा क्षेत्रमा लागेर के पाएँ जस्तो लाग्छ ?
सबैभन्दा पहिले त आफूले चाहेको काम गर्न पाएँ, त्यही कामले नाम र दाम कमाइरहेको छु । आजसम्म संगीतले नै पालेको छ भन्दा फरक पर्दैन ।

आगामी दिनमा के कस्ता योजना बनाउनुभएको छ ?
म कलाकार हुँ, संगीतविना बाहिर आएर म केही काम गर्न सक्दिनँ । यहीँ संगीत क्षेत्रलाई निरन्तरता दिने हो । अझ राम्रा–राम्रा गीत गाउने रहर छ ।

प्रतिक्रिया दिनुहोस्