Logo
Logo

सहयोग गर्न पाउँदा मन आनन्दित हुन्छ : अञ्जु पन्त, गायिका


- दृष्टि न्युज/संवाददाता


नेपाली गीतसंगीत क्षेत्रकी डिमाण्डेड गायिका हुन् अञ्जु पन्त । उनी बाहै्र महिना व्यस्त हुन्छिन् । वर्षैभरी स्टुडियो र स्टेजमा व्यस्त भइरहने गायिका अञ्जु पन्त ‘लकडाउन’मा पनि व्यस्त भइन् । उनी यो लकडाउनमा राहत वितरण गर्न भ्याइनभ्याइ भइन् । ‘अञ्जु पन्त फाउण्डेशन’मार्फत सामाजिक सेवामा गर्दै आएकी अञ्जुले भनिन्, ‘लकडाउनका कारण समस्यामा परेकाहरु भोकैतिर्खै नहोस् भनेर राहत बाँडेकी हुँ । मसँग धेरै पैसा भएरचाहिँ होइन ।’ ‘लकडाउन’ अवधिमा अञ्जुले आफ्नै खर्चबाट विभिन्न स्थानमा इँटाभट्टामा काम गर्ने एक हजारभन्दा बढी मजदूरलाई खाना खुवाइन् । गीतसंगीत क्षेत्रकै रेकर्डिस्टलाई समेत राहत दिन भ्याएकी अञ्जुले तीन सय परिवारभन्दा बढीलाई खाद्यन्नलगायत अत्यावश्यक वस्तु वितरण गरेकी छन् । यिनै चर्चित गायिका तथा समाजसेवी अञ्जु पन्तसँग एमपी सुब्बाको जम्काभेट ।

 

लकडाउनमा तपाइँको समय कसरी बित्दैछ ?

अरुबेला जसरी ब्यस्त हुन्थे, त्यसैगरी व्यस्ततामै बितिरहेको छ । गीतसंगीत क्षेत्र ठप्प भएपछि राहत वितरणमा लागेकी छु । राहत वितरणले यति व्यस्त बनायो कि मलाई लकडाउको अनुभवसमेत भएन ।

कस्ता व्यक्तिहरुलाई राहत दिनुभयो ?

– लकडाउनका कारण बेराजगार बनेर हातमुख जोर्न समस्यामा परेका सुकुम्बासी, मजदूर, गरिब र असाहयहरुलाई राहत बाँडेकी हुँ । त्यस्तै, हामै्र गीतसंगीत क्षेत्रका रेकर्डिस्ट दाजुभाईहरु जो समस्यामा परे, उनीहरुलाई खाद्यन्नलगायतका राहत दिएँ । यसबाहेक इँटाभट्टामा काम गर्ने मजदूरहरुको काम रोकिएर खानसमेत समस्या परेका एक हजारभन्दा बढी खाना खुवाउने काम गरेँ । अहिले समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएकी छु । सहयोग गर्न पाउँदा मन आनन्दित हुन्छ ।

लकडाउनले गीतसंगीत क्षेत्रलाई कतिको असर ग¥यो ?

– असर नगरेको कुनै क्षेत्र बाँकी रहेन । संसारै कोरोनाभाइरसका कारण आक्रान्त छ । यस्तो अवस्थामा नेपाली गीतसंगीत क्षेत्र पनि अछुतो छैन । खास गरेर कोरोनाभाइरस र त्यसले निम्ताएको लकडाउनले गर्दा सबैभन्दा बढी मानसिकरुपमा असर गरेको छ । अझ हामी क्रिष्टियन ध्यान गर्ने मान्छे । ध्यान गर्नेहरुलाई कोरोनाका कारण फलाना देशमा यति मान्छे म¥यो, उत्ति मान्छे म¥यो भन्ने समाचारहरु सुन्दा मेन्टली असर पर्दोरहेछ ।

यो अवधिमा गीतसंगीतको कामचाहिँ भयो कि भएन ?

– लकडाउन सुरु भएको केही सातासम्म भएन । त्यसपछि फाट्टफुट्ट काम भयो । मैले लकडाउनकै समयमा १२÷१५ वटा गीत रेर्कड गरेँ । कतिले रेकर्डिङका लागि बोलाए पनि तर, राहत वितरणमा व्यस्त भएपछि जान पाइनँ ।

कार्यक्रमहरु त धेरै छुट्यो होला है ?

– छुट्यो । तर, ती कार्यक्रमहरु सामान्य अवस्था भएपछि फेरि हुन्छ । लकडाउन हुनुअघि अमेरिका, युके, मलेसियालगायत खाडी मुलुकहरुमा कार्यक्रमका लागि कुरा भइरहेको थियो । तर, लकडाउन सुरु भएपछि स्थगित भयो ।

तपाइँजस्ता अति व्यस्तहरुलाई त लकडाउनले फाइदा नि ग¥यो भन्छन् नि ?

– फाइदा भनेको घर परिवारलाई समय दिन भ्याइयो । अरुबेला घर परिवारसँग सँगै बसेर खान त परैको कुरा, राम्रो बोल्नसमेत पाउँदिनथिएँ । तर, यसपटक मज्जाले समय दिन पाएँ । अर्को कुरा नेपाली दाजुभाई, दिदीबहिनी र आमाबाबुहरुलाई मनैदेखि सहयोग गर्न पाएँ ।

तपाइँको फाउण्डेशनले गरिब परिवारलाई घर बनाइदिने कुरो कहाँ पुग्यो ?

– पर्साको पर्टेवामा ३५ वटा घर बनाउने तयारी हुँदैथियो । त्यसका लागि सहयोग जुटाउन प्रपोजल बन्दैथियो । तर, कोरोनाले रोक्यो । सामान्य अवस्था आएपछि काम सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्