विराटनगर । विराटनगरमा परिवारबाटै एक किशोरीको हत्या भएको खुलेको छ । भारतको छप्राह घर भएकी १४ वर्षीया किशोरी चाँदनी यादवको हत्या भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खलेको हो ।
विराटनगरस्थित आफ्नो मावली घरमा बस्दै आएकी चाँदनी हराएपछि खोजी सुरु गरिएको थियो । सोही क्रममा शंका लागेपछि विराटनगर महानगरपालिका– ५ विशाल चोकमा रहेको मावली घरको करेसाबारीबाट १४ वर्षीया चाँदनीको शव शनिबार प्रहरीले उत्खनन गरेको छ ।

अनुसन्धानको क्रममा चाँदनीको एक युवकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि बुवाआमासँगकै मिलेमतोमा हत्या भएको देखिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट घटनामा बाबुआमादेखि मावली परिवारसम्मको संलग्नता देखिने मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । उनले सो घटनामा संलग्न को को व्यक्ति छन् भनेर यकिन गर्ने काम भइरहेको बताए ।
मृतक किशोरीको घर भारतको छप्राह हो । ‘छप्राहमा एक व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध भएको थाहा पाएपछि बुबा लालमोहन यादव र आमा राजकुमारी मण्डलले प्रेम सम्बन्ध छुटाउन मावली ल्याएको देखिएको छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘मावलीमा ल्याउँदा पनि प्रेम सम्बन्ध छुटाउन नसकेपछि रिसको झोंकमा हत्या भएको हुनसक्छ । रिसको झोंकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो ।’ चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर बाबुआमा भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
चाँदनीको हत्यापछि मामाघरबाट १२५ मिटर दक्षिणमा ४ फिट गहिरो खाल्डो खनेर कपडासहितको शव गाडिएको अवस्थामा भेटिएको थियो । मृतक चाँदनी बाबुआमासँगै करिब १ महिनाअघि विराटनगर– ५ स्थित मामाघर आएकी थिइन् ।
प्रहरीका अनुसार निकै दिन विराटनगर नै बसेका लालमोहन र राजकुमारी भने चाँदनीलाई नलिइकन आफ्नो घर फर्किएका थिए । बाबुआमाले नलगेकी चाँदनी मामाघरमा पनि नदेखिएपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी जोशीका अनुसार किशोरी हराएको खबर पाएपछि सोधपुछमा पुगेको प्रहरीलाई हजुरबुवा सरजुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए । बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताएका थिए ।
बालिकाका बारेमा सोधीखोजी गर्दा बाबुआमा र मावली हजुरबुवाबीचको कुरा बाझिएको थियो । उनीहरूको भूमिका शंकास्पद देखिएप्छि थप खोजि गर्दै जाँदा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि चाँदनीका मावली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु, जेठी छोरी उर्मिला, नातिनी अञ्जली र नाति बबिदेवलललगायत ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । घटनाबारे थप प्रमाण जुटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।