रौतहट । रौतहटमा सशस्त्र प्रहरीको गस्ती टोलीले हुन्डी कारोबारको १६ लाख बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजपुर नगरपालिका ४ का वर्ष ४० का शिवमंगल साह र वर्ष २३ का प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गणका प्रमुख एसपी विक्रम हुमागाईँले बताए ।

भारतीय सीमासँग जोडिएको इशनाथ नगरपालिका–४ महुलिया नाकामा सशस्त्र प्रहरी मठीयाको टोलीले गएराति भारतबाट नेपालतर्फ आउँदै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १६ लाख ४९ हजार दुई सय रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् । उक्त बरामद रकम हुण्डीको भएको खुलेको प्रहरीले जनाएको छ ।
बरामद नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।