Logo
Logo

 ‘रित्तो गाउँ’लाई राष्ट्रिय उत्कृष्ट लघुचलचित्र अवार्ड 


630
Shares

काठमाडौं । ‘रित्तो गाउँ’ लघुचलचित्र पुनः उत्कृष्ट साबित भएको छ ।

शनिबार संघीय राजधानी काठमाडौंमा आयोजित छैटौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल- २०२५ मा रित्तो गाउँ’ले राष्ट्रिय उत्कृष्ट लघु चलचित्रको अवार्ड जितेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त अवार्ड प्रदान गरेका थिए । 

उक्त लघु चलचित्रलाई विश्वभरका विभिन्न फिल्म फेस्टिभलहरूमा पठाइरहेको प्रोडक्सन टिमले जनाएको छ । फेस्टिभलहरू प्रदर्शन भइसकेपछि ओटीटी प्लाटफर्म मार्फत्  सार्वजनिक गर्ने अनन्दराज प्रोडक्सन हाउसको तयारी छ । 

यसअघि रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा पनि ‘रित्तो गाउँ’ले उत्कृष्ट सर्टफिल्म जुरी मेन्सन अवार्ड जितेको थियो । 

लघुचलचित्रले सामाजिक कथा बोकेको छ । ‘रित्तो गाउँ’ ले नेपालका धेरै पहाडी भेगमा भोग्नुपरेको कठोर यथार्थलाई गहिरिएर प्रस्तुत गरेको छ ।

वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बनेको छ । युवा वर्ग शिक्षा तथा वैदेशिक रोजगारीका लागि बिदेसिने क्रम बढ्दै जाँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिक मात्रै देखिन थालेका छन् । रित्तो गाउँमा यसै विषयलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । 

‘रित्तो गाउँ’मा अभिनेता मुकुल भुसाल, सुवास गजुरेल, सविना राउतलगायतको अभिनय रहेको छ । चलचित्र काभ्रेको पनौती नजिकै रहेको एउटा गाउँमा छायाङ्कन गरिएको छ । त्रिभुवन विश्वविद्यालय र आनन्दराज प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको  ‘रित्तो गाउँ’का लेखक तथा निर्देशक रामजी ज्ञवाली हुन् ।

प्रतिक्रिया दिनुहोस्