
काठमाडौं । ‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) गर्ने गराउने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको सानेपास्थित दुई घर भाडामा लिएर व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको सूचनाका आधारमा १० भारतीयसहित २४ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
पक्राउ पर्ने नेपालीहरुमा प्यूठानका टङ्कबहादुर पछाई, रवि विष्ट, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समीर खड्का, विक्रम पछाई, अशोक जिसी, सुजन जिसी र गोपाल बिष्ट, डोटीका तेज बोगटी, सुर्खेतका भीष्म वली र हेमन्त लोहनी तथा दार्चुलाका हेमन्त धामी रहेका छन् ।
त्यस्तै भारतीय नागरिकमा अजितकुमार, मुकेश मण्डल, मनोज कुमार, सुमित खत्री, प्रबात कुमार, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोजप्रकार कुमार छन्।
उनीहरूले आठभन्दा बढी ‘बेटिङ साइट’को प्रयोग गरी भारतीय बेटिङ खेल्ने ‘एजेन्ट’हरुसँग सामाजिक सञ्जालबाट सम्पर्क गरी ‘अफ लाइन’ अवैध खेल खेलाउने गरेका थिए ।
उनीहरुको साथबाट विभिन्न मोडेलका ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान बैङ्कको एटिएम कार्ड, ८८ थान सिमर्कार्ड, १२ थान चेकबुक, आठ थान भारतीय आधारकार्ड र ६ थान राहदानी बरामद गरिएको छ ।
‘बरामद भएको ल्यापटप तथा मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले तीन अर्ब चार करोड ७३ लाख ५६ हजार बराबरको अनलाइन जुवा कारोबार गरेको देखिएको छ’, प्रहरी उपरीक्षक आचार्यले भने ।
उनीहरुमाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद– ५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।