
काठमाडौं । केहि दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरुले आज ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका छन् ।
‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलन गर्दै आइरहेका आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ओपीडी सेवा बहिस्कार गरेका हुन् ।
यसअघि ‘पेन डाउन’ र आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका उनीहरुले आज माइतीघर मण्डलामा विरोध प्रदर्शनलाई पनि जारी राख्ने जनाएका छन् ।
संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आएका छन् । उनीहरुले सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउन पनि माग गरेका छन् ।
स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ निर्वाह भत्ता दिने कानुनी व्यवस्था गर्ने निर्णय गरेपछि त्यो पारिश्रमिक कम भएको भन्दै आवासीय चिकित्सकहरु चरणबद्ध आन्दोलनमा छन् ।