Logo
Logo

आवासीय चिकित्सकहरूद्वारा भोलिदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा


693
Shares

काठमाडौं । न्यूनतम पारिश्रमिक सरकारी सरह कायम गर्न माग गर्दै आइरहेका आवासीय चिकित्सकहरूले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।

विगत ६ दिनदेखि आन्दोलन गर्दै आएको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ले विज्ञप्ति जारी गर्दै भोलिदेखि देशभरका चिकित्सकहरूलाई काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन भनेको हो ।

चरम श्रम शोषणका विरुद्ध देशैभरिका सम्पूर्ण इन्टर्न, मेडिकल अफिसर, रेजिडेन्ट चिकित्सकहरूलाई माइतीघर मण्डलामा आएर आन्दोलनमा सहभागी हुन भनिएको छ ।

समितिका प्रवक्ता डाक्टर सञ्जय बरालले छैटौ दिनसम्म आन्दोलन गर्दा समेत राज्य मौन बसेको भन्दै काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरिएको बताए ।

माग पुरा नहुँदासम्म सेतो कोटमा माइतीघर मण्डलामा उपस्थित हुन लागिएको प्रवक्ता बरालले बताए । उक्त आन्दोलनमा चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थी, चिकित्सक तथा चिकित्सकका अधिकार स्थापित गर्न स्थापना भएका सङ्घ सङ्गठनहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।

समितिको नेतृत्वमा काठमाडौँमा माइतीघर मण्डलामा धर्ना दिनुका साथै आफू कार्यरत मेडिकल कलेजमा विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले ओपीडी सेवा बहिस्कार गर्नुका साथै पेन डाउन गर्दै विरोध गर्दै आएका छन् । तर, हालसम्म पनि सरकारले माग सम्बोधनका लागि कुनै निर्णय गरेको छैन ।

समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले गरेको तीन बुँदे निर्णय खारेज गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्