Logo
Logo

रविसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै


2.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा सहकारी ठगीको मुद्दा दर्ता हुँदैछ । सहारा चितवन सहकारी ठगीमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आज रविसहित १४ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

प्रहरीले पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको थियो । प्रहरी प्रतिवेदनका आधारमा लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध मुद्दा दर्ताका लागि फाइल तयार भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

लामिछानेसहितका १४ प्रतिवादीबाट ३८ करोड ९ लाख ७९ हजार एक सय ७७ रुपैयाँ बिगो भराउनुपर्ने प्रहरीको राय छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउने सरकारी वकिलले तयारी गरेको छ । लामिछाने यसअघि बुटवलस्थित सुप्रिम सहकारी ठगीमा रुपन्देही जिल्ला अदालतमा १ करोड, काठमाडौंमा ६० लाख र कास्कीमा ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्