Logo
Logo

नेता तथा कार्यकर्ताबीच एकता भए बहुमत ल्याउन सकिन्छ : देउवा


315
Shares

गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रुपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि एकताबद्ध प्रयास भएमा कांग्रेसले बहुमत ल्याउने बताए ।

‘अहिले हामीले समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली अवलम्बन गरेका छौँ, यसबाट कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ’, उनले भने, ‘तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौँ । अझ पार्टीका सबै साथीहरूबीच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौँ ।’

उनले संवैधानिक व्यवस्थासहित राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको धारणा व्यक्त गरे ।

सभापति देउवाले बिपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद लगायतका नेताहरूले सुम्पनुभएको जिम्मेवारीलाई पूरा गर्न पार्टीमा सुमधुर सम्बन्धसहितको एकता र क्रियाशीलता आवश्यक रहेको बताए ।

सङ्घर्षको जगमा प्राप्त लोकतन्त्र, सङ्घीयता र समावेशितालाई सुदृढ गर्न जरुरी रहेको उल्लेख गर्दै उनले देश विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्नेमा जोड दिए ।

प्राप्त अधिकारको सदुपयोग गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै पार्टी सभापति देउवाले सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्