काठमाडौं । ताप्लेजुङबाट सुरु भएको ‘नो केबलकार’ आन्दोलन चर्किँदै गएको छ । आन्दोलनको कारण अरुण पूर्वका नौ जिल्ला प्रभावित भएको छ भने संघीय राजधानी काठमाडौँमा समेत प्रदर्शन भएको छ ।
काठमाडौँको माइतीघर मण्डलामा सोमबार विभिन्न प्लेकार्डसहित केबलकारविरोधी समूहले प्रदर्शन गरेको हो । गत माघ १२ मा प्रहरीसँग भएको झडपका क्रममा दुई जनालाई गोली लागेको थियो । त्यसयता केबलकारविरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ ।

सोमबार माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।
उनीहरूले ‘असक्षम गृहमन्त्रीले राजीनामा दे !’, ‘नो केबलकार’, ‘हजारौँ प्रजातिका रुखहरू काट्ने विकास चाहिँदैन’, ‘सीडीओ लगायत दोषीलाई कारबाही गर’, ‘गिरफ्तार नागरिकलाई रिहाइ गर’, ‘मुक्कुम्लुङमा राज्य आतंक बन्द गर’ लगायतका नारासहितका प्लेकार्ड बोकेका छन् ।
अरुण पूर्वको नौ जिल्ला बन्द
पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द गर्दा कोशी प्रदेशका ९ जिल्ला प्रभावित बनेको हो ।
आन्दोलनरत पक्षले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने, गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहा गर्नुपर्ने लगायत माग रोखेको छ ।
यता सरकारले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
गृहमन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ ।
वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाई समेत आन्दोलनका कार्यक्रम फिर्ता लिई संवादमार्फत समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
तर ‘नो केबलकार’ पक्षधरले उक्त वार्ता अस्वीकार गर्दै आज पनि आन्दोलन जारी राखेको छ । राजनीति तहबाटै वार्ता हुनुपर्ने उनीहरूको माग छ । आन्दोलनलाई चेपुवामा पर्ने षड्यन्त्रले मात्रै सहसचिवको नेतृत्वको वार्ता टोली गठन गरिएको किरात याक्थुङ चुम्लुङको अध्यक्ष प्रेम याक्तेनले बताएका छन् ।