
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ ।
बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको तथा गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।