
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा फेरि अर्को नयाँ लफडा सुरु भएको छ । लामो समय विवादका बीच ३२ वर्षे उमेर हद लगाएर नयाँ नेतृत्व चयन गरेको अखिल (क्रान्तिकारी)मा वरीयताको लफडा सुरु भएको हो ।
अखिल क्रान्तिकारीका ९ मध्ये ६ वटा प्रदेश अध्यक्षहरुले फ्र्याक्सन इञ्चार्जलाई संयुक्त पत्र पठाउँदै आफूहरुमाथि अन्याय भएको र वरीयता मिलाउन माग गरेका छन् ।
उनीहरुले प्रदेश अध्यक्षहरुलाई केन्द्रको उपाध्यक्ष सरहको वरीयता दिनुपर्ने, प्रदेशको उपाध्यक्ष र प्रमुख सचिवलाई केन्द्रको उपमहासचिव सरह तथा अन्य पदाधिकारीलाई सचिव वो सोसरह हुने व्यवस्था कायम गरी विधान सच्याउन माग गरेका छन् ।
उमेरमा केन्द्रीय अध्यक्षभन्दा ‘सिनियर’ प्रदेश अध्यक्षहरुले वरीयता नमिलेसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने चेतावनी समेत दिएका छन् ।
विधान नसच्याए पदाधिकारी बैठक, सपथग्रहण कार्यक्रम, स्ववियु कार्यशाला गोष्ठी लगायत कुनै पनि कार्यक्रममा सहभागी नहुने र केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशको कुनै पनि कार्यक्रममा सहभागी नगराउने पत्रमा उल्लेख गरेका छन् ।
अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हद लागू गरेर अध्यक्षमा विजय सापकोटा नेतृत्वको टोली निर्वाचित भएको थियो । केन्द्रको नेतृत्व चयन हुनुभन्दा अगाडि उमेर हद नलगाई क्याम्पस इकाइ समिति, स्थानीय तहका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन (केही बाहेक) सम्पन भएका थिए ।
उमेरहदबारे निर्णय स्पष्ट नभएको अवस्थामा उमेर र क्रियाशीलता दुवै आधारमा ‘सिनियर’ नेताहरु प्रदेश अध्यक्ष बनेका थिए । अहिले केन्द्रमा ‘जुनियर’ नेतृत्व आएपछि प्रदेश अध्यक्षहरुले वरीयताक्रम मिलाउन माग गरेका हुन् ।
यस्तो माग गर्नेहरुमा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष वीरबहादुर थापा, कर्णाली प्रदेश अध्यक्ष मनसिंह शाही, लुम्बिनी प्रदेश अध्यक्ष पुष्कर शाह, गण्डकी प्रदेश अध्यक्ष त्रिदीप गुरुङ, बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेल र कोशी प्रदेश अध्यक्ष चन्द्र माङमुङ छन् ।
