काठमाडौं । आफ्नो देशका महिलालाई नेपाल बोलाएर यौन व्यवसायमा लगाउने युगान्डाकी एक महिलालाई जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
युगान्डा मासाका घर भएकी २५ वर्षीया नताशा भनिने इमाकुलेट नाबासुम्बालाई जिल्ला न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले मानव बेचबिखन तथा वेश्यावृत्तिमा मुद्दामा उक्त सजाय सुनाएको हो । साथै, पीडित युवतीलाई ८० हजार क्षतिपूर्ति भराउनसमेत आदेश भएको छ ।

वेश्यावृत्तिलाई मानव बेचबिखन मानिने नेपालमा खुला रूपमा विदेशी वेश्यावृत्तिका लागि आउनु तथा ल्याइनुले नेपाल वेश्यावृत्तिका लागि सहज भएको सन्देश विदेशमा जाने न्यायाधीश नेपालले फैसलामा उल्लेख गरेका छन् ।
‘नेपालको विद्यमान कानुन र व्यवहारमा देखिएको यसप्रकारको पार्थक्यताबाट अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रिय ख्यातिको प्रवर्द्धनमा देखा पर्न सक्ने नकारात्मक प्रभाव ठूलो चासो र चिन्ताको विषय हो । यस्ता कार्यलाई निरुत्साहित गर्दै कानुनको पालनामा सम्बन्धित सबै प्रतिबद्ध पनि हुनु अत्यावश्यक पनि छ,’ फैसलामा भनिएको छ ।
पर्यटक भिसामा नेपाल आई ठमेलस्थित होटेल जर्नी होममा बस्दै आएकी १५ फागुन २०७९ गते पक्राउ परेकी थिइन् । उनले नले नेपालमा क्लीनर, वेट्रेस लगायतको काममा मासिक ५ सय अमेरिकी डलर कमाई हुने तथा नेपाल आउने जाने हवाई टिकट, भिसालगायतको खर्च समेत कमाएर तिर्ने सर्तमा पीडितलाई नेपाल बोलाएकी थिइन् ।
नेपाल बोलाएपछि विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नुपर्ने, नत्र उनी र उनको परिवारलाई मारिदिने सम्मको धम्की दिँदै शारीरिक सम्पर्क गर्न बाध्य पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पीडित महिला बिरामी भई काम गर्न नसक्ने अवस्था भएपछि होटलबाट निकालेको र युगान्डा फर्कन लागेकी पीडितलाई टिकट रद्द गरिदिएको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
नाबासुम्बा आफैं यौन व्यवसायमा संलग्न हुँदै आएको र युगाण्डाका महिलाहरूलाई समेत नेपाल झिकाई यौन कार्यमा लगाउने गरेका थिए ।
ठमेलका विभिन्न नाइट क्लबहरूमा गई ग्राहकहरू खोजी ल्याउने र पीडितलाई वेश्यावृत्तिमा लगाई ग्राहकबाट प्राप्त रकम समेत आफैँले लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।