Logo
Logo

पाथीभरा केवलकार विवाद: हड्ताल फिर्ता, वार्ता ६ घण्टादेखि जारी


4.3k
Shares

काठमाडौं । मुक्कुमलुङ सङ्घर्ष सहयोग समितिले आम हड्ताल फिर्ता लिएको छ ।

अर्को सूचना नआएसम्म आम हड्ताल फिर्ता लिएको तथा घोषित यातायात बन्द कार्यक्रम भने जारी रहेको संयोजक कमल हाङसरुम्बाले बताएका छन् ।

विहान ११ बजेदेखि सुरु भएको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन । सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले अहिले पनि वार्ता जारी रहेको र निष्कर्ष निकाल्ने प्रयास भइरहेको जनाएको छ ।

हिजोको वार्तामा आन्दोलनरत पक्षले केबलकार निर्माण तत्काल स्थगित हुनुपर्ने, पक्राउ परेकालाई छाड्नुपर्ने लगायतका माग राखेको थियो। सरकारी वार्ता टोलीले उक्त माग सम्बोधन नगरेपछि वार्ता निष्कर्षमा पुग्न सकेको थिएन ।

गृह मन्त्रालयका सहसचिव भट्टराईको संयोजकत्वमा सरकारले शनिवार वार्ता टोली गठन गरेको हो। त्यसपछि आन्दोलनरत पक्षले सोमवार प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समिति बनाएको थियो ।

पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै ‘नो केबलकार’ पक्षधरले पूर्वका ९ जिल्लामा तीन दिनदेखि बन्द गरिरहेका छन् ।

उनीहरूले सोमवार काठमाडौँमा समेत गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रदर्शन गरेका थिए। पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले केवलकार निर्माण तत्काल रोक्नुपर्ने अडानबाट पछि नहट्ने प्रतिक्रिया दिए । उनले रोजगारी, शेयर वा पैसा कुनै पनि विकल्पको प्रलोभनमा आफूहरू नपर्ने बताए।

साथै, गत राति हिलिहाङ गाउँपालिकास्थित पामा वरक (जोरपोखरी) नजिक रुख ढालेर बाटो अवरोध गरिएको भन्दै अफवाह फैलाइएको विज्ञप्तिमा दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्