Logo
Logo

७ जना उपसचिव सहसचिवमा बढुवा


14.7k
Shares

काठमाडौं । सरकारले सात जना उपसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका सात जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिको सिफारिसबमोजिम निजामती सेवाका विभिन्न सेवा, समूह तथा उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका सात जना अधिकृतहरूलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सोसरहको पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्नेगरी अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । २०८२ साल जेठ २, ३ र ४ गते काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।

बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौँ उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

बैठकले बाल सुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमबिच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ । यस्तै सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूका लागि चालू आर्थिक वर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गरेको छ भने आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्