ललितपुर । नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । संवाद फाउण्डेसनले चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितिमा आज ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा आगामी फागुन १६ देखि १८ सम्म प्रथम चलचित्र महोत्सव हुने जानकारी दिएको हो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले नेपाली र मिथिला चलचित्रलाई विश्वमा बजारीकरण गर्न महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे । ‘जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । विश्वका एक सय ३७ भन्दा बढी देशले हाम्रो चलचित्रका बारेमा थाहा पाउनेछन्’, उनले भने ।
अध्यक्ष डिसीले पैसा कमाउने उद्देश्य राखेर महोत्सव गर्नु उचित होइन भन्दै यस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई अरु क्षेत्रको बजेट काटौति गरेर पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अभिनेत्री रेखा थापाले मिथिला सभ्यता, कला र महिलाको जननी भएको बताउँदै महोत्सवले त्यो महत्वलाई उजागर गर्ने बताए । ‘मधेशको कलासँग प्रगाढसम्बन्ध छ । पछिल्लो समय हाम्रो संस्कृति र भाषामाथि आक्रमण भएको छ, यसलाई चिर्नु आवश्यक छ’, उनको भनाइ थियो ।