
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाएका छन् ।
बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको हो । बैठकमा अहिले सरकारले ल्याएको विभिन्न अध्यादेशलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सरकारले यही माघ २४ गते संघीय संसदको दुवै सदनमा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेको थियो । तर, राष्ट्रियसभामा निर्णायक अवस्थामा रहेको जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले गरेको प्रयास असफल भएपछि त्यो दिन दुवै सदनको सूचीबाट अध्यादेशलाई हटाइएको थियो ।