Logo
Logo

हिंसालाई जनयुद्ध दिवस भन्नेहरू परिवर्तनलाई रुचाउँदैनन् : प्रधानमन्त्री ओली


1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तन नचाहने र नरुचाउनेहरु हिंसालाई जनयुद्ध दिवश भनेर मनाउने गरेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवश–२०८१ मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

सरकारले फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवश भव्यताका साथ मनाउने तयारी गरेको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक, सिंहदरबारमा बसेको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरूको प्रस्ताव पारित गर्दै भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो ।

सो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय प्रजातन्त्र दिवशलाई भव्यताका साथ मनाउनुपर्ने बताए । उनले भने, ‘यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ ।’

यसैक्रममा प्रधानमन्त्री ओलीले जनयुद्धलाई हिंसाको संज्ञा दिँदै भने, ‘यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन् । तर त्यत्रो परिवर्तनलाई नमान्ने र नरुचाउने तत्वहरू छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन ।’

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरंकुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरे ।

प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू एवं राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन् ।

यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता हुने गरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउण्ड कवाज तथा व्यायाम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको छ । यसैगरी सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ ।

विसं. २०७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ । यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरूमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्