Logo
Logo

बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्त्व समेटेको अनुसन्धानात्मक वृत्तचित्र सार्वजनिक


4.7k
Shares

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा पर्यटकीय महत्त्व समेटेर निर्माण गरिएको वृत्तचित्र– ‘जय श्री बडिमालिका’ सार्वजनिक गरिएको छ । 

शनिबार काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरेर वृत्तचित्र सार्वजनिक गरिएको हो । वृत्तचित्रमा श्री बडिमालिका पूजाको पन्ध्र दिने सरकारी पेटारो लैजाने धार्मिक यात्रालाई मुख्य विषयवस्तुका रूपमा समेटिएको छ । 

त्रिवि ग्रामीण विकास केन्द्रीय विभागबाट एमफिल तहको अनुसन्धानका शोधार्थी रोशनप्रसाद श्रेष्ठ र उप–प्राध्यापक डा। राजन विनायक पासाको संयुक्त पहलमा वृत्तचित्र निर्माण गरिएको थियो । 

वृत्तचित्र प्रदर्शनको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष तथा वृत्तचित्रका लेखक तथा निर्देशक समेत रहेका डा। पासाले कर्णाली र सुदूर पश्चिमको कनेक्सन क्षेत्र भएकोले बडिमालिका क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको र यसलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए ।

बडिमालिकाको महत्वका बारेमा सतही मात्र नभएर अनुसन्धानात्मक सामाग्रीको निर्माण गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको उनले बताए । 

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडीमालिका क्षेत्रको जानकारी लिन चाहने पक्षलाई सन्तुष्टि दिने खालको वृत्तचित्र निर्माण भएकोमा खुसी व्यक्त गरे । 

डोटीमा जन्मेका श्रेष्ठले बाल्यकालमा श्री बडिमालिका मन्दिमा सरकारी पक्षले पेटारो लैजाने गरेको स्मरण गर्दै  त्यसबारे विस्तृत अध्ययनका साथ वृत्तचित्र निर्माण गरेकोमा निर्माण पक्षलाई धन्यावाद ज्ञापन गरे । 

उनले सुदूरपश्चिम क्षेत्रको मात्र नभई सिंगो नेपालकै धार्मिक पर्यटन प्रवर्द्धनमा वृत्तचित्रले महत्त्वपूर्ण योगदान गर्न सक्ने बताउँदै सरकारी पक्षले यसलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । 

ग्रामीण पर्यटनविद् प्रेम शर्माले नेपालको नेचर र कल्चर अत्यन्त महत्त्वपूर्ण भएकोले त्यसलाई चिन्न देशव्यापी भ्रमण गर्नुपर्नेमा जोड दिए । यस्तै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका प्रा।डा। भूषण श्रेष्ठले धार्मिक पर्यटनका क्षेत्रमा सुदूरपश्चिमवासीले आफ्नो तहबाट विशेष पहल गर्नुपर्ने धारणा राखे । 

वृत्तचित्र निर्माणकर्ता शोधार्थी रोशनप्रसाद श्रेष्ठले आफ्नो शैक्षिक अध्ययनको क्रममा आफ्नो क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सरकारी पेटारो लैजाने गत श्रावण २१ गतेदेखि भएको पन्ध्र दिने धार्मिक यात्रामा सहभागी भई प्रत्यक्ष अनुसन्धानबाट शोध कार्य गरेको र सो शोधकार्यको क्रममा गरिएको अनुभवलाई वृत्तचित्रमा उतारेको बताए । 

वृत्तचित्रका निर्माणकर्ता तथा निर्देशक उपप्राध्यापक डा। पासाले यसअघि पनि पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ वृत्तचित्र निर्माण गर्दै आएका छन् । कार्यक्रमको सहजीकरण दुर्गाराज पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्