कैलाली । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले लागुऔषध दुर्व्यसनीमा नफस्न सबैलाई आग्रह गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ धनगढी उपमहानगर समितिले आइतबार धनगढीमा आयोजना गरेको लागुऔषध दुर्व्यसनीविरुद्धको बृहत् पैदलयात्राको शुभारम्भ गर्दै उनले लागुऔषधको प्रयोग नगर्न सबैमा आग्रह गरेका हुन् ।
‘लागुऔषध एकपटक पनि प्रयोग नगर्नुहोस् । एक मात्राले पनि दिमागमा असर गर्छ । साथीहरूको लहलहैमा पनि नलाग्नुस्’, मन्त्री देउवाले भने, ‘सकरात्मक कुरा सोचौँ । आफ्ना घरपरिवारलाई सम्झिउँ, लागुऔषध प्रयोगमा नलाग्नुस् । यसले कसैलाई राम्रो गर्दैन ।’
लागुऔषध दुर्व्यसनीमा फसेकालाई छोड्न आग्रह गर्दै उनले भने, ‘लागुऔषधमा फसिसकेकाले त्यसबाट निस्कन सकिन्न भन्ने नसोच्नुस् । निस्कन सक्नुहुन्छ, मान्छेले चाहे जे पनि हुन्छ । आजकै दिनदेखि छोड्नुस् ।’
मन्त्री देउवाले लागुऔषध दुर्व्यसनी नेपालमा मात्रै नभएर भारतमा समेत ठूलो समस्याका रूपमा रहेको बताए ।














