Logo
Logo

विश्व शक्तिको चासोमा नेपाल


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


केही वर्षयता नेपालमा विश्वशक्तिहरुको चासो ह्वात्तै बढेको देखिएको छ । गत साता अमेरिकी विदेशमन्त्री माईकआर पम्पिओले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन वार्ता गरेर एमसीसीबारे अमेरिकी चासो व्यक्त गरे । विश्वको कुल जनसंख्या ७ अर्बमध्ये चीनमा १९ प्रतिशत र भारतमा १७ प्रतिशत जनसंख्या बस्दछन् । यी दुवै नेपालका क्रमशः उत्तरी र दक्षिणी छिमेकी हुन् ।

रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

भारतको त नेपालमा पहिलेदेखि नै विशेष चासो रहँदै आएको छ भने, हालका दिनहरूमा चीनको पनि नेपालमा चासो निकै बढेको देखिएको छ । भारतको केन्द्र शासित प्रदेश गलवान घाटीलाई लिएर चीन र भारतको सीमा विवाद उत्कर्षमा पुगेको छ । जसमा भारततर्फ बीस जवान मारिएका छन् भने, चीनले अहिलेसम्म आफ्नोतर्फ भएको क्षतिको विवरण दिएको छैन ।

आगामी दस वर्षमा चीन र भारत क्रमशः विश्वको पहिलो र दास्रो शक्तिशाली अर्थतन्त्र भएको मुलुकका रूपमा उदय हुने प्रक्षेपण गरिएको छ ।

हालको शक्तिशाली अर्थतन्त्र अमेरिका तेस्रो स्थानमा पुग्ने बेला यति बैंक स्टान्डर्ड चार्टर्डले सन् २०३० पछि विश्व अर्थतन्त्रमा पुग्ने ठूला दस देशको अन्वेषणपछि उक्त प्रक्षेपण गरेको हो । यस समयमा चीनको अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन (जीडीपी) ६४.२ ट्रिलियन डलर तथा भारतको ४६.३ ट्रिलियन डलर पुग्ने अनुमान छ । यी दुवै देश परमाणु शक्ति सम्पन्न राष्ट्र हुन् र यी दुवै मुलुकबीच युद्धको अवस्था बेलाबखत देखिन्छ । यदि यी हाम्रा छिमेकी परमाणु युद्धमा गए भने विश्वको लगभग ३५ प्रतिशत जनसंख्या समस्यामा पर्नेछ ।

यस्तो विषम परिस्थितिमा नेपालको भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेखलाई लिएर गम्भीर सीमा विवाद उत्पन्न भएको छ । आर्थिकरूपले सम्पन्न दुई विशाल छिमेकीबीच रहेको नेपाललाई आफ्नो परराष्ट्र नीतिको सञ्चालन कसरी गर्ने ? परीक्षाको घडी आएको छ । किनभने, दुवै छिमेकीसँग नेपालको मित्रवत सम्बन्ध छ ।

उता विश्व महाशक्ति मुलुक अमेरिकाको पनि नेपालमा चासो बढेको छ । कोभिड–१९ ले गर्दा विश्व अर्थव्यवस्था चर्मराइरहेको बेला नेपालजस्ता कमजोर अर्थव्यवस्था भएको मुलुकमा यसको झन् गहिरो असर परेको छ । विश्वमा अहिले असंलग्नताको सान्दर्भिकता कम हुँदै गएको छ ।

यस्तोमा सफल कूटनीति माध्यमबाट मुलुकलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा पु¥याउन धेरै मेहेनत गर्नु पर्नेछ । जतिसुकै विवाद भएता पनि छिमेकीसँग सौहार्द्रपूर्ण सम्बन्ध राखेर मुलुकको विकास गर्नुपर्दछ । उग्रराष्ट्रवादले मुलुकको भलो गर्दैन । यहाँनेर के कुराका हेक्का राख्नुपर्दछ भने ७० वर्षदेखि अल्झिएर रहेको नेपाल–भारत सीमा विवाद आजको भोलि नै टुंगिने छैन । यसको समाधानका लागि लामो र निरन्तर प्रयास गरिरहनु पर्दछ ।

सफल र परिपक्व कूटनीतिको माध्यमबाट भारत, चीन र अमेरिाकाको स्वार्थलाई व्यवस्थापन गर्दै मुलुकलाई अगाडि बढाउनुपर्दछ । आजको आवश्यकता भनेको त्यही नै हो ।

Twitter : @rmshghimire

प्रतिक्रिया दिनुहोस्