Logo
Logo

मुख्यसचिवको ध्यान अख्तियारमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असार । समयमा संघीय निजामती ऐन आउन नसक्दा सिंगो प्रशासन अस्तव्यस्त छ । हजारौं कर्मचारीको भविष्य अन्योलमा छ । तर, निजामतीका कमाण्डर रहेका मुख्यसचिव लोकदर्शन रेग्मीलाई त्यतातर्फ कुनै चासो छैन । उनको चिन्ता त अवकाश पाएपछि कसरी आकर्षक पदमा जाने भन्नेमै छ ।

आगामी ३ कात्तिकबाट अवकाश पाउन लागेका रेग्मीले त्यसअघि नै अन्यत्र नियुक्तिका लागि बार्गेनिङ सुरु गरेका छन् । सकेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग नत्र अमेरिकाको राजदूत हुने उनको रणनीति छ ।

सरकारले उनलाई एक महिनाअघि नै राजिनामा गर्न लगाएर आफु अनुकुलका सचिवलाई मुख्यसचिवमा नियुक्त गर्न लागेको छ । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई मुख्यसचिव बनाउन यस्तो तयारी हुँदैछ । सचिवको पाँच वर्षे कार्यकालका कारण अधिकारीले २२ असोजमै अवकाश पाउने भएकाले मुख्यसचिवले राजीनामा गर्नुपर्ने हुन्छ । राजीनामा गर्नका लागि उनले अख्तियारको प्रमुख आयुक्त मागेको स्रोत बताउँछ । अख्तियारमा असोजमा प्रमुख आयुक्तको पद रिक्त हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली पूर्व सचिव प्रेमकुमार राईलाई प्रमुख आयुक्त बनाउने प्रयासमा छन् । तर, उनलाई रोक्न पछिल्लो समय एक समूह सक्रिय छ । त्यसमा लोकदर्शन पनि छन् । आफुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले समेत विश्वास गर्ने भन्दै उनी यस्तो दौडधुपमा लागेका हुन् । भागबन्डा नै नमिल्दा आयोगमा आयुक्तको दुई पद लामो समयदेखि रिक्त छ ।

त्यस्तै आफूपछि शंकर बैरागीलाई मुख्यसचिव बनाउने चलखेलमा समेत रेग्मी लागेका छन् । बैरागी पनि असोजमा अवकाश पाउँदैछन् । उनी पनि मुख्यसचिवको खेलमा छन् । मुख्यसचिव नभए राजदूत नियुक्त हुने उनको रणनीति छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चलखेलकै आधारमा मुख्यसचिव भएका रेग्मीले पछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालको चाडकी गरेर पद जोगाएका थिए । अहिले पनि तिनै सहयोगीहरुमार्फत उनले चलखेल जारी राखेका छन् । रेग्मी जस्ता कुनै क्षमता र अडान नभएका व्यक्ति अख्तियार गए देशमा भ्रष्टाचार झन् मौलाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्