Logo
Logo

लकडाउनमा खाना बनाउन सिकेँ-तृष्णा गुरुङ, फेसन डिजाइनर


- दृष्टि न्युज/संवाददाता


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथाम गर्न घोषित ‘लकडाउन’ले फाइदा कसलाई पो गरेको छ र ? महामारीका कारण मानवीय जीवन त संकटमा प¥यो नै, विश्व अर्थतन्त्रसमेत ध्वस्त हुने अवस्थामा पुगेको छ । महासंकटको यो अवस्थाले केही व्यक्तिलाई फाइदा भएको छ भनेको सुन्दा आश्चार्य लाग्ला । तर, ‘लकडाउन’ले यस्ता व्यक्तिलाई भने फाइदा पु¥याएको छ, जो अरुबेला व्यस्तताका कारण घरपरिवारलाई समय दिन नभ्याएर ‘इरिटेशन’मा थिए । यस्तै एक उदाहरण हुन्, चर्चित फेसन डिजाइनर तथा स्टाइलिस्ट तृष्णा गुरुङ । एक दशकयता फेसन डिजानिङमा व्यस्त तृष्णाले ‘लकडाउन’बारे अनुभव सुनाउँदै भनिन्, ‘कोरोनाका कारण आमजनजीवन अस्तव्यस्त भइरहेको बेला मलाई भने राम्रै भयो । किनकि, मैले १० वर्षयता घरपरिवारलाई समय दिन भ्याएकी थिइनँ । लकडाउनले गर्दा परिवारसँग बस्न पाइयो, पारिवारिक कुराकानी गर्न पाइयो ।’ मृगतृष्णा फेसन एण्ड प्रोडक्शन प्रालिकी सञ्चालक तथा फेसन डिजाइनर तृष्णा गुरुङसँग एमपी सुब्बाको जम्काभेट :

‘लकडाउन’को समय कसरी बिताउँनुभयो ?

घरमै बसियो । घरपरिवारलाई समय दिन नभ्याएको १० वर्षभन्दा धेरै भएको थियो । तर, लकडाउनले गर्दा आनन्दले घरमा बस्न पाइयो । व्यक्तिगत रुपमा मलाई लकडाउनमा फाइदा भएको छ ।

व्यापार–व्यवसाय त डामाडोल भयो नि, होइन र ?

त्यो त हो । तर, सधैं काममात्र गर्दा पनि ‘इरिटेशन’ हुने रहेछ । मलाई यही लकडाउनमा अनुभव भयो । अरुबेला एकदिन राम्ररी घरमै बसौँ भन्दा पनि मन मान्दैनथियो । बिहान जुरुक्क उठ्यो अफिस गयो । राति आयो, सुत्यो । त्यसैले घरपरिवारसँग कुराकानीसमेत हुन्नथ्यो । तर, आराम चाहनेका लागि लकडाउनले फाइदा गरेपनि महामारीले मानवीय जीवनमा निम्ताएको संकटले दुःख लागेको छ ।

‘लकडाउन’मा घरमा बसेर अरु के–के फाइदा लिनुभयो ?

धेरै कुरा सिकेँ । पहिलो कुरा खाना बनाउन सिकेँ । म सानैदेखि घरको काम गर्दिनथिएँ । त्यसैले अहिलेसम्म खाना बनाउन जानेकी थिएन । तर, यही लकडाउनले घरको काम सिकायो । नर्मली म खाना बनाउन सक्ने भएँ । अर्को कुरा फेसन स्टाइलिस्टको अनलाइन कोर्ष गर्दैछु । अब केही दिनमा सकिन्छ ।

‘लकडाउन’ खुकुलो पारिएको छ । काममा फर्किनु भएको छ कि छैन ?

फर्केकी छैन । लकडाउन खुकुलो बनाइयो भन्नुमात्र हो । फेसन बजार ठप्प छ । मेरो व्यवसायी अरुजस्तो होइन । अहिलेको अवस्थामा खाद्यन्नलगायत अत्यावश्यक वस्तुको मात्र बजार छ । यो अवस्थामा मान्छेहरु फेसनभन्दा जीवन कसरी बचाऔँ भन्नेमा छन् ।

‘लकडाउन’मा फाइदाका कुरा त भयो, बेफाइदा पनि त भयो होला ?

व्यापारमा असर परेपछि घाटा नहुने कुरै भएन । विशेषगरी मेरो इभेन्टको तयारी हुँदैथियो । ती इभेन्टहरु स्थगित गर्नुपरेको छ । नेपालबाहिर समेत केही देशमा इभेन्टको तयारी गर्दैथिएँ । ती सबै स्थगित हुँदा ठूलो घाटा भएको छ ।

आर्थिकरुपमा ठ्याक्कै यति घाटा भयो भन्ने हिसाब–किताब गर्नुभएको छैन ?

अहिलेसम्म १५ देखि २० लाखसम्म घाटा भयो । अझै कति समय घाटामा जानुपर्ने हो थाहा छैन । नेपालमा संक्रमित बढिरहेका छन् । तर, घाटा मलाई मात्र भएको छैन । विश्वमै संकट छ । यस्तो अवस्थामा घाटामा गएँ भनेर टाउको हात राखेर बस्ने कुरा भएन ।

अब कहिलेसम्म यसरी काममै व्यस्त रहेन हो, घरजमबारे सोच्नुभएको छैन ?

अहिलेचाहिँ सोच्न थालेकी छु । सबै कुरा फुर्सदमा सोचिँदोरहेछ । लकडाउनमा घरमै बस्दा मलाई यो फिल भयो कि एक्लै जीवन कटाउँन गाह्रो हुनेरहेछ ।

जीवनसाथीको लागि कोही सोचिसक्नुभएको छ कि ?

अहिलेसम्म छैन । अरुबेला काममा व्यस्त भएर त्यतातिर सोच्नै भ्याइएन । अहिले पो फुर्सद भएर त्यो सोच आयो । अहिलेसम्म ‘कम्प्टिली’ सिंगल छु ।

फिल्म निर्माणको कुरा थियो, त्यो के भयो ?

लकडाउन नभएको भए यतिखेर सम्पादनमा हुनेथियो । गत चैत ३० गतेबाट फ्लोरमा जाने निश्चित भएको थियो । तर, १० गतेबाटै लकडाउन सुरु भयो । अब सामान्य अवस्थामा आएपछि काम अगाडि बढ्छ ।

प्रतिक्रिया दिनुहोस्