Logo
Logo

छोरीको पवित्र उपहार


6k
Shares

छोरीको आठौँ जन्मदिन मनाएको धेरै भएको थिएन । ऊ अझै अरु बच्चा जस्तै चञ्चल र चकचके नै थिई । र पनि उसमा बुझिनसक्नु गम्भीरता थियो । चिनियाँ बच्चाहरूको बिचमा एक्लो विदेशी विद्यार्थी भएर पनि उसको पढाई राम्रो थियो । शिक्षिकाहरू लगायत अरुले उसको कुरा गर्दा आमाका रूपमा मलाई गर्वबोध हुन्थ्यो ।

मेरो पहिलो सन्तान ! मायाको पोको थिई ऊ । जन्मेदेखि नै उसले मेरो दुस्साहसिक यात्रामा साथ दिएकी थिई । ऊ पेटमै छँदा भूमिगत गएको सरोजलाई भेट्न पाँचमहिनाको गर्भ लिएर जनकपुरसम्म एक्लै बसमा गएकी थिएँ । त्यो बेला त एउटा खतरनाक चीजसमेत बोकाएर पठाएको थियो पार्टीले ।

पेटमा हुर्किँदै गरेको मायाको डल्लो, अनि झोलामा एउटा कटुवा पेस्टोल ! ऊ जन्मिसकेपछि अढाई महिनाकी बच्चीलाई बोकेर अर्धभूमिगत हुँदै तराईको स्कूलमा काम गर्न पुगेकी थिएँ । त्यो बेलाको जोश, जाँगर सोचको कुरा नै भिन्दै थियो । महिना पुगेपछि छोरी जन्मँदा अस्पतालमा सबभन्दा खुसी छोरीकी आमा भएकी थिएँ म ।

म्याटर्निटी वार्डमा मेरै वरिपरिका कति सुत्केरी आमाहरु छोरी पाएकै कारण रोईरहेका थिए । उनीहरुले मेरो खुसीलाई बुझ्न नसकेको मात्र होइन, आफ्नै मातृत्वको महानता र सुन्दरतासँग पनि बेखबर थिए । पुरुषप्रधान परिवारको भारीले नराम्ररी पिस्सिएका थिए । नजिकैका बेडमा सुतिरहेका केहीलाई सम्झाउने प्रयत्न गरिरहेँ ।

भूमिगत भएका छोरीका बुवा उत्तिकै खुसी थिए– छोरी जन्मेकोमा । बच्चा जन्मिनु अघि नै ‘अझै नजन्मिसकेको सन्तानसँग’ शीर्षकमा एउटा कविता लेखेका थिए– “ …छोरा भएर जन्मे पनि, छोरी भएर जन्मे पनि… माया नै माया लिएर पर्खिरहेका छौं…’’ भन्ने भावमा लेखेको त्यो कविता पछि साथीहरुलाई सुनाउँदा भाव विभोर हुन्थ्यौँ हामी । कहिल्यै कतै प्रकाशित नभएको त्यो कविता पनि सरोजका कविताहरुमध्ये मलाई बढी मनपर्ने एउटा कविता हो ।

एउटा रमाईलो प्रसंग– सरोजलाई चिन्नुभन्दा अगाडि नै उनको कविताको फ्यान भएकी थिएँ म । त्यसबेला पार्टीकै निर्देशनमा निस्किने गरेको पत्रिका ‘महिला मुक्ति’मा प्रकाशनको निम्ति एउटा कविता आएको थियो– ‘जीवन’ नामको कुनै कविको ।

उसका सुन्दर अक्षर र कविताको भाव दुवैबाट म धेरै नै प्रभावित भएकी थिएँ । कविता लेख्ने मान्छे एकजना असल युवक हुनुपर्छ भन्ने लाग्यो । यस्तो मान्छेलाई त जीवनमा एकपल्ट भेट्नै पर्छ भन्ने इच्छा पनि जाग्यो । आफै पनि साहित्यप्रेमी थिएँ ।

उद्देश्य मिल्ने एउटा साथीको आवश्यकता पनि महसुस भइरहेको बेला थियो । भेट नै नभइसकेको बेला, वास्तविक नामसमेत थाहा नभइसकेको बेला– त्यो कविताले तानेको थियो मलाई । समय र संयोगले त्यो कविसँग भेट मात्र गराएन, उसलाई नै जीवनसाथी बनाइदियो ।

छोरी चारवर्षकी हुँदा उसलाई बोकेर चीन पुगेकी थिएँ । सरोज त एकवर्ष अघि नै पुगिसकेका थिए । उनको युनिभर्सिटीको होस्टेलमा हाम्रो पारवारिक जीवन पुनः सुरु भएको थियो ।

बच्चाले सानै बेलादेखि घरपरिवारको अनुभव राम्रोसँग गर्न पाएको थिएन । डेढवर्ष जति पाटन अस्पतालको क्वार्टरमा हो सँगै बस्न पाएको । धेरैजसो त कहिले कता कहिले कता– ठेगान नै हुँदैनथियो ।

सरोजले पुनः विद्यार्थीको जीवन विताउन थालेपछि छोरीलाई लिएर आमाकहाँ फेरि एक वर्ष बसेकी थिएँ । दिउँसो बच्चालाई पनि लिएर स्कूल जान्थें पढाउन । थोरै तलबले जसोतसो बच्चाको आवश्यकता पु¥याउँथेँ । दिल खोलेर राम्रो कपडा किनिदिन पनि सक्दिनँ थिएँ । आमासँगै दुःखसुख भोग्दै आएकी हो ठूली छोरीले ।

सुरुमा असम्भव जस्तो भएको थियो चीनमा बच्चालाई लिएर जाने कुरा । धेरै सम्बन्धित मान्छेहरुसँग कुराकानी गरेर, संघर्ष नै गरेर मात्र त्यो अन्तर्राष्ट्रिय ढोका खुलेको थियो हाम्रो निम्ति । विदेशी विद्यार्थीहरूको पहिलो बच्चा होला चीनमा आमासँग जान पाएकी छोरी । हामीले बाटो खोलिदिएजस्तो भयो– पछि त सरोजका अन्य साथीहरूले पनि त्यो मौका पाए सजिलै ।

चीन पुगेको केही महिनापछि नै हामी बाबुआमासँगै छोरीको पनि विद्यार्थी जीवन सुरु भयो । किन्डरगार्टेनदेखि प्राइमरी तहसम्म उसले उतै पढी । चिनियाँ बच्चाहरूको बिच एक्ली विदेशी विद्यार्थी भएर पढ्नु पर्दा पनि उसको कुनै गुनासो सुन्नु परेन । त्यो बेलाका चिनियाँ शिक्षकहरूप्रति पनि म ज्यादै कृतज्ञ छु ।

सबैले उसलाई विशेष माया गर्थे । वाङ लाउश्र् – उसकी क्लास टीचरले विशेष हेरचाह पनि गर्ने र बेला बेलामा हामीसँग पनि कुराकानी गर्थिन् उसको बारेमा । बच्चैदेखि मेधावी विद्यार्थी थिई ऊ । हरेक दिन लोकल बस चढेर स्कूल पु¥याउनु पथ्र्यो । धेरै भीडभाड भएको बेला झर्को मान्थी । त्यति बेला बच्चाहरूको निम्ति छुट्टै स्कूल बस पनि थिएन ।

एकपल्ट छोरीको स्कूलको पिकनिक थियो । त्यो बेलाको समाजवादी चीनमा स्कूलमा बच्चाहरूको हेरचाह पनि राम्रै हुन्थ्यो । कुनै किसिमको नराम्रो व्यवहार हुँदैनथ्यो । यो मामलामा म ढुक्कै थिएँ । सबै बाबुआमाका एउटा मात्रै बच्चा हुने भएकाले बालबालिका विशेष नै हुन्थे । बच्चाहरू अलि फुर्केकै पनि हुन्थे । मेरी छोरीको अवस्था भिन्दै थियो, ऊ दुःखसुख बुझ्थी । पिकनिक जाने बेला उसको हातमा अलिकति थप पैसा राखेर भनेकी थिएँ– “तिमीलाई जे जे किनेर खान मन लाग्छ त्यो किनेर खाउ, है’’ भनेर ।

पिकनिकबाट फर्कंदा उसको हातमा एउटा सानो पोका थियो । आउने बितिक्कै मलाई दिई “मामुलाई उपहार किनेर ल्याइदिएको’’ भनेर । पोको खोलेर हेर्छु त ससाना माटोले बनेका मान्छेका पुतलीहरू । म एकदमै भावुक भएँ उसको त्यो उपहार देखेर । मन लागेको कुरा किनेर खान दिएको पैसा बचाएर आमाको निम्ति उपहार किन्ने कुरा त्यो सानी बच्चीले कसरी सोच्न भ्याएकी होली ! खुसी भएर मायाले च्यापेँ छोरीलाई । ऊ पनि खुसी भई ।

तर त्यही दिन फुर्केर छुकछुक् गरिरहेको बेला मैले प्याट्ट हातमा पिटेर त्यसो नगर के भनेकी थिएँ ऊ ह्वाँ ह्वाँ रोई । मलाई निक्कै नमज्जा भयो । ठूलो ग्लानि भयो । नम्रतापूर्वक मायाँले सम्झाउनुको सट्टा कडा व्यवहार गरेकी थिएँ । एकछिन अगाडि मेरी छोरीले त्यति गहिरो मायाले पवित्र उपहार ल्याइदिएकी थिई । केही बेरपछि नै मैले छोरीको कोमल चित्त दुखाई दिएँ । त्यो ग्लानिले कति पिरोलेको रहेछ मलाई भन्ने कुरा अहिले डायरी पल्टाउँदा देख्छु– अझै ग्लानि हुन्छ । पछि उसकी क्लास टिचरलाई भेट्दा सबै कुरा सुनाएकी थिएँ । उनको आँखामा पनि आँसु टल्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्