Logo
Logo

ओलीलाई तर्साएको एउटा गोप्य भोज


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउन भारतले चलखेल गरिरहेको सार्वजनिक रुपमै बताएपछि राजनीति तरंगित छ । भारतले मिचेको भूमी समाबेश गरेर नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउने प्रयास भइरहेको उनको भनाई थियो ।

पद जोगाउनका लागि ओलीले भारतीय कार्ड खेलेको धेरैले टिप्पणी गरेका छन् । पार्टीभित्रै प्रधानमन्त्री वा अध्यक्ष पद छाड्न दबाब आएपछि यस्तो बताएको समेत नेकपाकै कतिपय नेताहरुको भनाई छ ।

ओलीलाई पदबाटै हटाउने चलखेल भारतबाट भएको प्रष्ट गतिविधि छैन । तर, हालै भारतीय दूतावासले केही नेताहरुलाई समेत बोलाएर भोज दिएको सूचना भने ओलीले पाएको बालुवाटार स्रोत बताउँछ ।

गत ११ असारमा झम्सिखेलस्थित होटल भिमान्तामा दूतावासले त्यस्तो भोज आयोजना गरेको थियो । दूतावासमा कार्यरत डिसिएम अजय कुमारले भोज दिएका थिए । उनले अवकाश पाउन लागेकाले नेपाली नेताहरुलाई भोज दिएका हुन् ।

उक्त भोजमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, नेताहरु लक्ष्मणलाल कर्ण, मोहम्मद इस्तियाक राई, प्रदीप यादब, २ नम्बर प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, व्यापारी राहुल चौधरी, राजबहादुर शाही, कपिल रानाइनलगायतको उपस्थिति थियो । कूटनीतिक नम्बरप्लेटकै गाडीमा दूतावासका अधिकारीहरु त्यहाँ पुगेका थिए ।

सोही घटनालाई समेत आधार बनाएर ओलीले आफूलाई हटाउन भारतीय दूतावाससमेत सक्रिय भएको आशंका गरेका हुनसक्छन् । ओलीले बालुवाटारमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा गत शनिबार होटलमा समेत विभिन्न गतिविधि भइरहेको बताएका थिए । तर, अहिले भारत लाग्दैमा सरकार ढालिहाल्ने अवस्था भने छैन । किनकी सरकारलाई नेकपाकै बहुमत छ । त्यसकारण भारत भन्दा ओलीलाई पार्टीभित्रैबाट हटाउने जोखिम रहेको विश्लेषकहरुले बताएका छन् । घमन्डी कार्यशैली र बढ्दो बेथितीका कारण ओलीविरुद्ध पार्टीभित्रै असन्तुष्टि चुलिदै गएको छ । पार्टीभित्रको यो अवस्थालाई ओलीले सम्हाल्न सकेनन् भने आफ्नै कारण सरकार ढल्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्