Logo
Logo

मानवअधिकार आयोगमै बार्गेनिङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असार । राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरुको कार्यकाल सकिन लागेको छ । कार्यकाल सकिनै लाग्दा आयोगभित्र विवाद भने चुलिदै गएको छ । कतिसम्म भने विवाद बढेपछि सोमबार अध्यक्ष अनुपराज शर्माले आफैैं बिज्ञप्ती जारी गरेर सदस्यहरुले बोलेको विषय आयोगको आधिकारीक धारण नभएको भनेर स्पष्टिकरण दिएका छन् ।

आयोगमा चार सदस्य छन् । चारै जनाको आ–आफ्नो स्वार्थ छ । प्रकाश वस्ती, सुदीप पाठक, गोविन्द शर्मा पौडेल र मोहना अन्सारीबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । जसकारण अध्यक्ष अनुपराज शर्माले पटक पटक जिम्मेवारी समेत हेरफेर गर्दै आएका छन् । पछिल्लोपटक सदस्यहरुले मिडियामा जथाभावी बोलेपछि अध्यक्ष आफैँले नै विज्ञप्ति जारी गर्नुपर्ने अवस्था आएको हो ।

गत वर्षसम्म मोहना अन्सारी प्रवक्ता रहेकोमा विवादास्पद अभिव्यक्ति दिएपछि उनको जिम्मेवारी खोसेर सचिव बेद प्रसाद भट्टराईलाई दिइएको थियो । अन्सारीले सामाजिक सञ्जालबाटै प्रहरीलाई निर्देशन दिने र पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै उजुरी परेको थियो ।

त्यस्तै सुदीप पाठकलाई अनुसन्धानको जिम्मेवारी रहेकोमा पछि गोविन्द शर्मालाई दिइयो । शर्माले पछिल्लो समय इन्काउन्टरसम्बन्धि अनुसन्धानका गोप्य कुरा सार्वजनिक गरेको भन्दै आयोगभित्र विवाद बढेको छ ।

प्रहरीले गरेका १२ वटा इन्काउन्टर घटनाको पूर्व न्यायधीश ताहिर अली अन्सारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले प्रतिवेदन दिएको छ । जुन प्रतिवेदनअनुसार धेरै प्रहरी अधिकारीको जागिर धरापमा पर्ने देखिन्छ । प्रहरीहरुले लबिङ गरेर त्यससम्बन्धि विषयलाई नरम बनाउने प्रयास गरेका छन् । जसकारण आयोगबाट निर्णय हुन सकेको छैन । संवैधानिक आयोगभित्रै यस्तो गम्भीर विषयमा चलखेल भएपनि प्रश्न उठेको छ ।

आयोगका सबै पदाधिकारीले आगामी असोजबाट अवकाश पाउँदैछन् । त्यसकारण सदस्यका निर्देशन समेत कर्मचारीले मान्न छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्