अभिनेत्री दीपिका प्रसाईँ चाँडै फिल्म ‘मायावी’मा देखिँदैछिन् । मोडलिङ हुँदै फिल्म क्षेत्रमा होमिएकी दीपिका ‘मायावी’बाट निक्कै अपेक्षित छिन् । फिल्म ‘ऐश्वर्य’बाट अभिनेत्रीको रूपमा चिनिएकी दीपिका भन्छिन्, ‘फिल्म मायावीले दर्शकको माया पाउँछ भन्नेमा हामी टिम नै ढुक्क छौँ ।’

दीपिकाले फिल्म ‘छक्का पन्जा–३’बाट राम्रै चर्चा पाएकी थिइन् । तर, त्यसपछि उनी केही समय कला क्षेत्रमा गुपचुप भइन् । अहिले आएर फिल्म ‘मायावी’ मुख्य भूमिकामा देखिन लागेकी अभिनेत्री दीपिका प्रसाइँसँग रेजिना पाण्डेको जम्काभेटः
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
-अहिले फिल्म ‘मायावी’को प्रमोशनमै व्यस्त छु । मेरो होम प्रोडक्सनको यो फिल्म आगामी फागुन १४ गते शिवरात्रीको दिन प्रदर्शनमा आउँदै छ । त्यसैले टिम नै प्रचारप्रसारमा लागेका छौँ ।
‘मायावी’ कस्तो फिल्म हो ?
-यो पारिवारिक र सामाजिक फिल्म हो । फिल्ममा चाहिने सबै मरमसला छ । कथावस्तुअनुसार गीतसंगीत पनि राम्रो बनेको छ । यो फिल्मको कथा र निर्देशक दिवाकर भट्टराई हुुनुहुन्छ । उहाँ एक सफल निर्देशक हुनुहुन्छ । साथै, सबै टिमले राम्रो काम गरेका छौँ । यो फिल्मले दर्शकको माया र साथ पाउँछ भन्नेमा हामी ढुक्क छौँ ।
कतिपय फिल्म राम्रो बनेर पनि व्यवसाय गर्न सक्दैन, यस्तो किन हुन्छ ?
-हो, कहिलेकाहीँ राम्रा फिल्महरू पनि ओझेल परेका उदाहरण छन् । कहिले गीतकै भरमा फिल्म हेर्न दर्शक हलसम्म पुगेका पनि छन् । हामीले पनि सबै कुरा दर्शकको हातमा छोडेका छौँ । लाग्छ, पक्कै हामीलाई दर्शकले माया गरिदिनुहुन्छ । दर्शकका लागि महिनौँ लगाएर फिल्म बनाएका छौँ । त्यसैले पनि ‘मायावी’ चल्छ र दर्शकको माया पाउँछौँ भन्ने कुरामा आशावादी छौँ ।
‘मायावी’बाट तपाईँको अपेक्षा के छ ?
-अपेक्षा धेरै गरेकी छु । यो फिल्मका लागि मैले धेरै मिहेनत गरेको छु । फिल्मको काम हुँदै गर्दा म ‘अन प्लान प्रेग्नेन्ट’ भएकी पनि थिएँ । तर, मैले फिल्मलाई चाहिने जिम, हर्स राईडिङ, स्विमिङ र डान्सका लागि त्यो अवस्थामा पनि सर्ट दिएँ । शुटिङकै बिच बेबी भयो । तर, फिल्मको काम गर्न छाडिनँ । यस्तो मिहेनत गरेर यो फिल्म मैले गरेकी हुँ । त्यसैले पनि मिहेनत अनुसारको अपेक्षा गरेकी छु ।
‘मायवी’का निर्देशक तपाईँको श्रीमान् हुनुहुन्छ । यो फिल्मको कथा तपाईँकै लागि परिकल्पना गरेर लेखिएको हो ?
-स्पेसल मेरै लागि कथा लेखिएको नभए पनि सुहाउँदो चाहिँ हो । मैले उहाँ (दिवाकर)लाई भनेको थिएँ, म भन्दा राम्रो कलाकार खोजेर काम गराउनु राम्रो हुन्छ । तर, उहाँले मलाई भन्नुभयो– यो फिल्ममा अरूले न्याय दिन सक्दैन । त्यसैले मैले काम गरेकी हुँ ।
तपाईँले ‘अन प्लान प्रेग्नेन्ट’को कुरा गर्नुभयो । के अहिले नै बच्चा जन्माउने प्लान थिएन ?
-प्लान चाहिँ थियो । तर, फिल्म ‘मायावी’को काम सकिएपछि प्लानमा गर्ने सोचमा थियौँ । तर, कामको व्यस्ततामै भयो । हामी ‘मायावी’कै काममा व्यस्त थियौँ । त्यतिबेलै ‘प्रेग्नेन्ट’ भएपछि फिल्म बजारमा आउन ढिलाइ भएको हो । तैपनि हामी खुसी छौँ किनकि, सन्तानसँगै हाम्रो ड्रिम प्रोजेक्ट पनि आउँदै छ ।
आमा बन्न चाँडो भयो जस्तो लागेको छैन ?
-छ्रैन । अझ ढिला भएको जस्तो लाग्यो । किनकि, अझै चाँडो भएको भए राम्रो हुन्थ्यो । हामीले अर्को सन्तानको पनि प्लान गरिरहेको छौँ । अब चाहिँ छोरी भए हुन्थ्यो भन्ने लाग्छ ।
आमा भएपछि आफूमा के परिवर्तन पाउनुभयो ?
-धेरै नै परिवर्तन पाएकी छु । आमा बनेर पनि फिल्मका लागि अफरहरू आइरहेका छन् । तर, अहिले छोरालाई पहिलो प्राथमिकता दिएको छु । मैले चाहेको भए बच्चा अरूलाई हेर्न लगाएर काम गर्न सक्थेँ । तर, रियल आमाको भूमिका निर्वाह गर्दा संसारको सबै खुसी पाएजस्तो भइरहेको छ ।
आठ वर्षमा तीन फिल्म मात्र गर्नुभयो । यस्तो कन्जुस्याइँ किन ?
-कन्जुस्याइँ गरेको चाहिँ होइन । कामको मौका नआएको पनि होइन । तर, काम गरेपछि सबैको मनमा बस्ने खालको गरौँ, घरपरिवारलाई पनि समय दिऊँ भन्ने सोचले कम सङ्ख्यामा मात्र फिल्म गरेकी हुँ । मैले घमन्ड गरेको होइन । धेरै काम गरेर लथालिङ्ग पार्नुभन्दा एउटै तर राम्रो गरौँ भन्ने मेरो मान्यता हो ।
फिल्ममा काम गरेबापत श्रीमानबाट पारिश्रमिक पाउनुहुन्छ ?
–पाउँछु र पाएकी छु । काम गरेपछि उहाँले राम्रै दाम दिनुभएको छ । मेरो पनि त कर्म यही हो । त्यसैले काम गरेपछि म पनि फलको आशा गरिहाल्छु नि ।
एक समय नचाहँदा नचाहँदै कला क्षेत्रमा प्रवेश गरेँ भन्नुभएको थियो । अहिले चित्त बुझेको छ ?
-हो, भनेकी थिएँ । खासमा मेरो घरपरिवारमा यस क्षेत्रमा कोही हुनुहुन्न । मन परेपनि यत्तातिर आउँछु भन्ने सोचेकी थिइनँ । सोही क्रममा दिवाकर भट्टराईको अनुरोधमा फिल्म ‘ऐश्वर्य’मा काम गरेँ, जसले मलाई सफलता पनि दियो । यही फिल्मले मलाई दीपिका भनेर चिनायो । श्रीमान् पनि यही क्षेत्रमा भएकाले अहिले मलाई सहज भएको छ । फिल्म क्षेत्रमा लागेर अहिले मलाई पछुतो छैन ।
तपाईँको प्राथमिकता घर कि सिनेमा ?
-पहिलो प्राथमिकता घर नै हो । म जहिले पनि घरपरिवारलाई नै मान्यता दिने व्यक्ति हुँ । म पारिवारिक लबर पनि हुँ भन्दा फरक पर्दैन । दोस्रो प्राथमिकता फिल्म हो । सायद फिल्मलाई पहिलो प्राथमिकतामा राखेको भए मैले दर्जनौँमा काम गरिसकेको हुन्थेँ ।
फुर्सदमा के गर्नुहुन्छ ?
-पहिले किताब पढ्थे र सिनेमा हेर्थेँ । तर, अहिले म बच्चासँग धेरै समय बिताउँछु । त्यसैले हिजोआज फुर्सदमा प्रायः बच्चासँगै खेल्छु ।











